१९ श्रावण २०७८, मंगलवार

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु



१२ असार, सप्तरी । सप्तरीमा ट्यांकरको ठक्करबाट २ बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा तेल बोक्ने ट्यांकरले शनिबार एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प २५८५ र स.२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्यांकर ठक्करले स.११ प २५८५ नम्बरको मोटरसाइकलमा सवार रुपनी गाउँपालिका ३ कि ८ बर्षकी यशोधा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताए ।

मृतक बालिकाको मामा कुसुमलाल मण्डलले चलाइरहेको मोटरसाइकलमा मण्डलसहित उनकी दिदी सुमनदेवी र भाञ्जी यशोधा सवार थिए ।

यस्तै, सोही ट्यांकरले स २ प ५२४५ नम्बरको मोटरसाइकल ठक्कर दिँदा कञ्चनरुप नगरपालिका ६ बस्ने सुनैया प्रबीणको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका हजुरबुवा सलीमले बुहारी र नातिनीलाई लिएर घरतर्फ जाँदै गर्दा ट्याङ्करले ठक्कर दिएको प्रहरी निरीक्षक द्विवेदीले बताए ।

दुबै मोटरसाइकलमा सवार अन्य व्यक्तिहरु भने सामान्य घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु