२१ मंसिर २०७८, मंगलवार

जुडो खेलाडी सोनियाले टोकियो ओलम्पिक खेल्ने



१२ असार, काठमाडौं । जुडो खेलाडीकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट प्रतिस्प्रर्धा गर्ने भएकी छिन्। दुई वर्षअघि नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ४८ केजीमुनि प्रतिस्प्रर्धामा कांस्य पदक विजेता सोनियाले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी हुन्। सोनिया टोकियो ओलम्पिकका लागि छनौंट हुने पाँचौं नेपाली खेलाडी बनेकी छन्।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार सोनियाले ओलम्पिक खेल्ने पक्का भएको छ। उनले भने, ‘सोनियाले ओलम्पिक खेल्ने पक्का भएको छ। हामीले इन्द्रबहादुर श्रेष्ठ र सोनियाको नाम पठाएकोमा सोनियाले वाइल्ड कार्ड पाएकी छन् ।’ नेपाल पुलिस क्लवकी खेलाडी सोनियाले अहिले क्लबमै तयारी गरिरहेको र अब केही दिनपछि नै बन्द प्रशिक्षणमा राखेर तयारी थालिने अध्यक्ष वज्राचार्यले जानकारी दिए।

जुनियर समूहमा अन्तर्राष्ट्रिय वरियता र प्रदर्शन राम्रो भएकाले सोनियाले वाइल्ड कार्ड पाएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले बताए।

सोनिया विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी पनि हुन्। उनले सन् २०१९ मा मोरक्कोमा भएको वल्र्ड जुनियर च्याम्पियनसिपमा ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेकी थिइन्। त्यसअघि कुनै पनि नेपाली खेलाडीले विश्वस्तरीय प्रतियोगितामा पहिलो खेल जित्न सकेका थिएनन्। सन् २०१८ मै अर्जेन्टिनामा आयोजना भएको युथ ओलम्पिक खेलकुदमा सहभागी भएकी सोनियाले सन् २०१९ मा जापानमा जुडोको विशेष प्रशिक्षण समेत लिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको