कालिकोटकी सुनिता सहकारीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार
१२ असार, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स सुनिता सहकारीलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिने भएको छ । मदन भण्डारी फाउण्डेशनले कोभिडविरुद्ध खटिएका दुई जना फ्रन्ट लाइनरलाई उक्त सम्मान दिने क्रममा सहकारी छनौंट भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए ।
फाउण्डेशनका सचिव पेम्वा लामाका अनुसार उक्त पुरस्कार असार १४ गते जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्तीको सन्दर्भमा काठमाडौँमा प्रदान गरिनेछ । फाउण्डेशनद्वारा एक लाख राशीको यो पुरस्कार स्टाफ नर्स सहकारीसँगै र नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुर स्टेशनका एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिने छ ।
समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रका कर्मशिल व्यक्ति वा संस्थाहरूलाई प्रदान गरिँदै आएको यो पुरस्कार यसअघि बरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता डा. महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेशनल, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।
सम्मान–पत्र सहित एक लाख धनराशीको पुरस्कार पाउने स्टाफ नर्स सहकरी नरहरीनाथ गाँउपालिका ४ कालिकोट निवासी हुन् । उनी २०७६ चैत १६ देखि भेरी अस्पतालमा करारमा नियुक्ती भई कोभिड आइसीयूमा काम गर्दै आइरहेकी छन् । सहकारी आइसीयूमा काम गर्ने क्रममा आफै दुईपटक कोरोना संक्रमणमा समेत परेकी छन् । सनिता संक्रमितलाई बचाउन आफ्नो दुःखलाई वेवास्ता गरी सेवामा खटिदै आएकी छन् ।
विवाह भएको ८ वर्षमा नै २५ वर्षीया सुनिताले ब्लड क्यान्सरबाट गत माघमा पति वियोग व्यहोर्नु परेको छ । काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्यु लगत्तै दाहसंस्कार गरेर कोरोनाको रेड जोन बाँकेको भेरी अस्पतालमा उनी अहोरात्र खटेर काम गरेकी थिइन ।
त्यस्तै नेपाल एम्बुलेन्स सर्भिसका एम्बुलेन्स चालक बोमबहादुर गुरुङ कोरोना सुरु भए यता दिनरात कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल पुर्याउने काममा खटिएका चालक हुन् ।