१६ श्रावण २०७८, शनिबार

औषधिका रूपमा असुरोको उपयोगिताका बारेमा डा. अरूणा उप्रेतीको मननयोग्य विचार



केही वर्षअघि मलाई छातीमा संक्रमण भएर छाती रोग विज्ञ कहाँ गएको थिएँ । विज्ञले छाती जाँचेर औषधि लेख्नुभयो । त्यो औषधि खाएपछि ज्वरो निको भयो तर खोकी लागि नै रह्यो । मेरो ठूली आमाले असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाऊ भन्नुभयो । यसरी खाँदा खोकी निको भयो ।

हेर्दा सामान्य देखिने र जताततै पाइने जडीबुटी असुरो श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रुपमा प्रयोग गर्ने पुरानै चलन रहेछ । यसको पात, जरामा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेदमा उल्लेख छ ।

असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ । त्यसपछि मैले असुरोको बारेमा बुझ्न कोशिश गरेँ। असुरोका फाइदाका बारेमा धेरै जानकारी पाएँ ।

गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए । त्यसैगरी सुदूरपश्चिममा जाँदा त्यहाँका गाउँलेले असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा घोली खाँदा फाइदा गाउँघरमा जाँदा त्यहाँका केही मानिसले असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको कुरा बताएका थिए ।

हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पात छायाँमा सुकाई राखेर उपयोग गर्न सकिन्छ । यसलाई पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा धेरै फाइदा गर्छ ।

असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारु भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ ।

असुरो एक झाडीदार वनस्पति हो । यसको पात ३ इन्चदेखि ८ इन्चसम्म लामो हुन्छ । असुरोमा सेतो रङ्गको फूल फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ । यो औषधिको रुपमा पनि प्रयोग हुन्छ । आयुर्वेदमा असुरोको प्रयोगको बारेमा लेखिएको छ “सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइ पनि कम गर्छ । असुरोले श्वास–प्रश्वास प्रणालीमा हुने समस्या कम गर्छ ।”

घाँटी खसखस हुँदा, चिसो लाग्दा पनि यसले फाइदा हुन्छ । कब्जियत भएकोलाई पनि असुरोको पात पकाएर खाँदा फाइदा गर्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरूमा राख्दा किरा लाग्दैन । कृषकहरूले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागत रूपमै असुरोको पातको प्रयोग गर्छन् ।

यसले जैविक मल र किटनाशक औषधिको पनि काम गर्दछ । किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ । आयुर्वेदअनुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ ।

असुरोको पात उमालेर तातो पानीको बाफले धेरै फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा आयुर्वेदमा उल्लेख छ । एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ । तर असुरोको प्रयोग धेरै गर्दा रक्तचाप कम हुनसक्छ । क्याप्सुल खानेहरुले पनि यसबारेमा ध्यान दिनुपर्छ ।
(डा. अरूणा उप्रेतीको फेसबुकबाट)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु