छिमेकीसँग राम्रो अपिल होस् भन्ने चाहन्छौं, तर अनावश्यक चलखेल सैह्य छैनः प्रचण्ड
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका छन् ।
विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको स्पष्ट पारेका हुन् ।
यसअघि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सामूहिक वक्तव्य सार्वजनिक गर्दै नेपालका बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताएका थिए ।
प्रचण्डले भने, ‘यहाँ प्रत्यक्ष वा परोक्ष विदेशी चलखेल हुन नपाओस् भनेर हामीले अपिल गरेका हौं । परिस्थिति गम्भीर नभई त्यो गरेको होइन ।’
मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएको भन्दै प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको बताए । उनले भने, ‘हामी छिमेकीसँग राम्रो अपिल होस् भन्ने चाहन्छौं । तर अनावश्यक चलखेल हामीलाई सैह्य छैन । नेपालको मनोविज्ञान नेपालको संस्कार त्यस्तो होइन ।’
लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा आफु जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने तयार रहेको बताए । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।
पत्रकारहरूलाई नै प्रश्न गर्दै प्रचण्डले थपे, ‘हामी उस्तै उस्तै हो र, फन्डामेन्टल्ली फरक छैन र ?’