‘मलाई त्यही केटी चाहिन्छ भन्ने गीतमा झैं राष्ट्रपतिले पनि मलाई ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुभयो’: अधिवक्ता बन्दी
९ असार, काठमाडौं । कुशल अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली बाहेक अन्य नेतामा सरकारको नेतृत्व गर्न सक्ने क्षमता नै नभएको जस्तो व्यवहार देखाएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ को रिटको सुनुवाइमा बहस गर्दै अधिवक्ता वन्दीले यस्तो धारणा राखेका हुन् ।
राष्ट्रपति भण्डारीले समग्रतामा भन्दा पनि व्यक्तिगत चाहनालाई परिपूर्ति गर्नेगरी निर्णय गरेका कारण प्रशस्त प्रश्न उठेको अधिवक्ता बन्दीको दाबी थियो ।
प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारदेखि सुरू भएको संवैधानिक इजलासमा बहस गर्दै उनले विश्वासको मतबाट वैशाख २७ मा फेल भएपछि ओलीले प्रधानमन्त्री बन्ने वैधानिकता गुमाएको बताए ।
त्यसो भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले उनलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री बनाइएको सम्झाएका थिए ।
त्यसपछि बन्दीले भारतीय सर्वोच्च अदालतको फैसलाले गरेको एउटा व्याख्या सुनाए । विश्वासको मत नलिनु भनेको विश्वासको मत गुमाउनुसरह भएको भन्दै गरिएको व्याख्या सुनाएपछि उनले राष्ट्रपतिको निर्णयमा प्रश्न गरेका थिए ।
१४९ जनाको हस्ताक्षर बुझाएका देउवालाई दाबी नपुगेको भन्ने अधिकार राष्ट्रपति भण्डारीलाई नभएको उनले बताएका हुन् ।
आफ्नो बहसलाई थप वस्तुपरक बनाउने क्रममा अधिवक्ता बन्दीले राष्ट्रपतिको नियत एउटा गीतसँग मील्न गएको तर्क राखे । उनले भने, ‘एउटा गीत छ श्रीमान्, मलाई त्यही केटी चाहिन्छ भन्ने । हाम्रो राष्ट्रपतिले पनि त्यही गीतमा झैँ मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नु भयो ।’
देश अप्ठ्यारोमा धकेलिदा पनि राष्ट्रपतिले तटस्थ अभिभावकीय भूमिका खेल्न नसको भन्दै राजनीतिक विश्लेषक र आम सचेत नागरिकले समेत कडा आलोचना गरिरहेकै छन् ।