६ आश्विन २०७८, बुधबार

काठमाडौंमा ‘स्मार्ट लकडाउन’: निजी सवारीमा जोर-बिजोर, पसलहरू बारअनुसार खुल्ने



६ असार, काठमाडौं । सरकारले ‘स्मार्ट लकडाउन’ सुरू गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले केहि खुकुलो बनाएर निषधाज्ञा असार ११ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइने र बार अनुसार पसल पनि सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।

संक्रमण दर पनि घट्दै गएकाले जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने रणनीति अन्तर्गत यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । उनले भने, ‘यसको अर्थ जोखिम सकिएको भन्ने चाहिँ होइन, नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।

त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

कोरोनाको बढ्दो जोखिम न्युनिकरण गर्न उपत्यका प्रशासनले गत बैशाख १६ देखि १६ निषेधाज्ञा लागु गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः थपिदै आएको निषेधाज्ञा केहि खुकुलो बनाएर जारी राखिएको हो ।

निषेधाज्ञाको सूचना हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको