६ आश्विन २०७८, बुधबार

कोहलपुर नगरपालिकाको निर्देशनः अंग्रेजी माध्यमको नाममा कुनैपनि शुल्क नउठाउनु !



७ असार, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले अंग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ ।

सोमबार (आज) एक सूचना जारी गर्दै नगरपालिकाको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले कुनैपनि शिर्षकमा शुल्क उठाइएको पाइएको कडा कारबाहीको भागिदार हुनुपर्ने उल्लेख गरेका हुन् ।

निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १–८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिइएको छ ।

विद्यालयले कुनै पनि शीर्षकमा विद्यार्थी शुल्क लिएको वा शुल्क तिर्न बाध्य बनाउन कोशिस गरिएको जानकारी वा सूचना प्राप्त भइ पुष्टि भएमा त्यस्तो शुल्क लिने विद्यालयबाट सम्बन्धित विद्यार्थी/अभिभावकलाई उक्त रकम तत्काल फिर्ता गराउने समेत चेतावनी दिएको छ ।

चालु शैक्षिक सत्रका लागि पनि आधारभूत तहका सबै कक्षाहरुको पठनपाठन तथा विद्यालय सञ्चालन खर्च नगर अनुदानबाट व्यवस्थापन गरिएको हुँदा नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयका आधारभूत तह (बालविकास र कक्षा १–८) मा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषा माध्यमका कक्षाहरू पूर्ण रुपमा निःशुल्क सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई आर्थीक वर्ष २०७६/७७ देखि नै पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री, मर्मत सम्भार कार्यका लागि नगरपालिकाबाट चौमासिक रुपमा अनुदान बजेट उपलब्ध गराउँदै आएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै कक्षा ९ र १० को वार्षिक तथा मासिक लगायतको शुल्क संरचना पुस्ट्याईसहित पेश गर्न र स्वीकृति लिन सूचित गरिएको छ ।

साथै संस्थागत विद्यालयहरूलाई पनि विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेश गर्न समेत निर्देशन दिइएको छ ।

देशभरका विभिन्न सामुदायीक विद्यालयमा अङ्ग्रेजी शिक्षाको नामा अनावश्यक शुल्क उठाउने गलत संस्कार विकास भइरहेका बेला कोहलपुर नगरपालिकाले चालेको यो कदम गतिलो सिकाई बन्नसक्छ ।

सूचना हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको