१ आश्विन २०७८, शुक्रबार

मेलम्ची नदीमा फेरी डरलाग्दो बाढी, सतर्क रहन प्रशासनको अपिल



४ असार, काठमाडौं । मंगलबारको बाढीको पिडा नसेलाउदै मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा असार १ गते आएको भन्दा ठूलो बाढी आएको हो ।

पानी नपरे पनि बाढी आएकाले शिरतिर पानी पर्यो कि भन्ने आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् ।

बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका रहेको उनले बताए । पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको अधिकारीले बताए ।

तर राती बाढी आउन सुरू भएकाले के कस्तो क्षति भएको छ भन्ने विवरण आइनसकेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई अस्ति नै सुरक्षित स्थानमा सारिसकिएकोले ठूलो क्षति ब्यहोर्नु नपर्ने प्रहरीको अपेक्षा छ । आसपासका सबै बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

नदी आसपास रहेका खाली घरहरूलाई भने बाढीले क्षति र्पुयाउन सक्ने आँकलन गरिएको छ । प्रहरीका अनुसार भोटेकोसी नदीमा पनि पानीको बहाव बढेको जानकारी प्राप्त भएको छ ।

मेलम्चीमा फेरि बाढी आएकाले सम्भावित जोखीममा रहेका सबैलाई आवश्यक सतर्कता अपनाउन अपिल गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।

पछिल्लो ३–४ दिनयता मुलुकभर बाढी पहिरोले अकल्पनिय रूपमा जनधनको क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको