१२ इन्चको रडले कोख छेडिएका कोरोना सङक्रमितको सफल शल्यक्रिया
३ असार, काठमाडौं । डाक्टरलाई भगवानको उपमा त्यसै दिइएको होइन । बाच्ने आशा मरिसकेका धेरै त्यस्ता बिरामी, घाइते, अपाङ्गहरूले डाक्टरको सफल शल्यक्रियाको कारण नयाँ जीवन पाएका छन् । झापाका ३८ वर्षीय एक युवकको सवालमा पनि यस्तै भएको छ ।
करिब १२ इन्चको फलामको रडले कोख छेडिएर गम्भिर घाइते भएका तिं कोरोना संक्रमित युवकको सफल शल्यक्रिया गरी रड निकालिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. सुरेश प्रसाद शाह नेतृत्वको टोलीले सफल शल्यक्रिया गरी युवकको कोखबाट १२ इन्च लामो रड निकालेको हो ।
गत जेठ ११ गते दिउसो १ बजेतिर घरको भित्ता प्लाष्टर गर्ने क्रममा ६ फिटको उचाईबाट झर्दा छातीको देब्रेपट्टि कोखाबाट रड करिब १२ इन्च भित्र छिरेको थियो । दुर्घटना भएको दिन करिब ४ बजेतिर घाइते संक्रमितलाई रडले छाति छेडिएको अवस्थामा प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याइएको थियो । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार करङबाट छिरेको रडले फोक्सोको तल्लो भाग र मुटुमा पनि चोट लागेको थियो ।
बिरामीलाई शल्यक्रिया कक्षमा लगिसकेपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पाजेटिभ आएपनि स्वास्थ्यका मापदण्ड अपनाई शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
११ दिनको अस्पताल बसाइपछि नयाँ जीवन पाएर ३८ वर्षीय युवक घर फर्किसकेका छन् । समयमै अस्पताल पुर्याइएकाले तत्काल शल्यक्रिया गरी रड निकाल्न सम्भव भएकाले उनको ज्यान जोगिएको प्रतिष्ठानले जनाएको छ ।