मेलम्ची बाढी पीडितका लागि २ करोड सहयोग दिदै काठमाडौं महानगर
३ असार, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार राती अकस्मात आएको भीषण बाढीले बिचल्लीमा परेका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि त्यहाँका बासिन्दाहरू अप्ठ्यारोमा परेको बेला महानगरले सहयोग गरेको मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उक्त रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताए ।
पहिरोले थुनिएको मेलम्ची खोलाको बाँध फुट्दा निकै ठुला अनुमापातमा आएको बाढीले हेलम्बु र मेलम्चीको बजार क्षेत्र तहसनहस भएको छ । बाढीले सडक, पुललगाएतका संरचनाहरू ध्वस्त भएका छन् भने सयौं मानिस घरबारविहीन भएका छन् ।