निष्कर्ष : पहिरोले थुनिएको नदीको बाँध एक्कासी फुट्दा मेलम्चीमा भीषण बाढी
२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी भीषण बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आएपछि सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र हेलम्बु बजार क्षेत्र डुवानमा परेको थियो ।
मेलम्चीमा आएको सोही बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन । सम्पर्कविहीन भएका २० जनामध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ । एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
बाढीले मेलम्ची नगरपालिकाका ६०० जना, हेलम्बु गाउँपालिकाका ३०० जनासहित ९०० स्थानीय वासिन्दा प्रभावित भएका छन् । हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ ।
बुधबार हेलिकप्टरबाट गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको पाइएको हो ।
उक्त पहिरोले मेलम्ची नदी थुनिएर ठूलो दह बनेको फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थुनिएको मेलम्ची नदी एक्कासी पहिरोको माटोसहित बग्दा मेलम्ची बजार तहसनहस भएको हो ।
मेलम्ची बजार डुवानमा परेपछि स्थानीय वासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् ।
जिल्ला प्रशासनको विज्ञप्ति हेर्नुहोस् :


