२० जेष्ठ २०८०, शनिबार

थप उपचारका लागि झलनाथ खनाललाई भारतको एपोलो अस्पताल लगियो



२ असार, काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ ।

अक्सिजनको सहायतामा नर्भिक अस्पतालमा उपचाररत खनाललाई परिवारले भारतको एपोलो अस्पताल लैजाने निर्णय भएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन् । नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर थियो ।

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन, पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि खनाललाई मंगलबार एक पिन्ट रगत समेत चढाइएको थियो ।

कोरोना हुँदा निमोनियाको समस्या देखिएका खनाललाई सो समस्या फेरि बल्झिएको चिकित्सकले आशंका गरेको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए ।

गत वैशाख १८ गते कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका खनाल कोरोना मुक्त भई वैशाख २८ गते घर फर्किएका थिए । लामो समयदेखि विभिन्न शारिरिक समस्यासँग लड्दै आएका खनालको स्वास्थ्य कोरोना सङ्क्रमण पछि थप कमजोर भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको