१६ श्रावण २०७८, शनिबार

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक साता थपियो



३० जेष्ठ, काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

साबिकको केही खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

भट्टराइका अनुसार अब खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ ।

खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने यसअघिको निर्णय केहि खुकुलो बनाएर ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको हो ।

होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए। अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ । विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ ।

वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको छ । कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू पनि खुल्न दिने निर्णय भएको छ ।

अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ ।

भोली (सोमबार) राति १२ बजेसम्म तोकिएको उपत्यकाको निषधाज्ञाको समय सकिनु अगाडि नै प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन् । उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने सरोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।

देशभरिका जिल्लामा अहिले संक्रमणदर घटेर २२ देखि ३० प्रतिशतको हाराहारीमा आइसकेको छ । उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशः ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको काठमाडौंको सिडिओ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनले भने, ‘हामीले यी सबै कुरालाई बुझेरै निषेधाज्ञा केही खुकुलो बनाउँदै लगेका छौं ।’

थपिएको निषेधाज्ञाको एकसाताको अवधिमा काठमाडौं उपत्यकाको संक्रमणदर विश्लेषण गरिने र त्यसपछि के गर्ने भन्ने निर्णय आउने पराजुलीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु