११ मंसिर २०७८, शनिबार

अर्बपति बेजोससँग अन्तरिक्ष यात्रा : टिकट मूल्य २ करोड ८० लाख डलर



३० जेष्ठ, काठमाडौं । अर्बपति जेफ बजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्न एक व्यक्तिले २ करोड ८० लाख डलरमा टिकट खरिद गरेका छन् । बेजोसको ब्लु ओर्जिन कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा यात्रा गर्न ति व्यक्तिले उक्त रकम खर्च गरेको तथ्य सार्वजनिक भएको हो ।

२० जुलाईमा अमेरिकाको टेक्ससबाट उड्ने उक्त रकेटमा यात्रा गर्ने टिकटका लागि शनिबार लिलामी बढाबढ भएको थियो ।

२० जनाले उक्त टिकटका लागि भाउ लगाउदा ४८ लाख डलरबाट सुरू भएको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो । यसअघि उक्त टिकट किन्नका लागि संसारका १५९ देशबाट ७ हजार ६ सय मानिसले फारम भरेका थिए ।

ब्लु ओर्जिनले त्यत्रो पैसा खर्चेर उक्त टिकट किन्ने व्यक्तिको परिचयभ भने खुलाएको छैन । कम्पनीले यात्रुका लागि उमेरदेखि, स्वास्थ्यका विषयमा विभिन्न मापदण्ड बनाएको थियो ।

यसअघि विश्वकै धनी व्यक्ति घोषित भइसकेका अमेजन कम्पनिका मालिक बेजोसले सन् २०००मा ब्लु ओर्जिन कम्पनी खोलेका थिए । उक्त कम्पनीले बनाएका मानवरहित रकेट यसअघि नै अन्तरिक्षमा गइसकेका छन् भने यात्रु लिएर न्यु सेफर्ड पहिलो पटक अन्तरिक्षमा जान लागेका हो । रकेटमा बेजोससँगै उनका भाइ मार्क पनि हुनेछन् । स्वचालित फ्लाइटमा सबै ६ जना यात्रु हुने बताइएको छ । अरू यात्रीबारे अहिलेसम्म खुलाइएको छैन ।

गत साता इन्स्टाग्राममा बेजोसले आफूले पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने गरेको बताएका थिए ।

टिकट लिलामीबाट आएको पैसा कम्पनीको फाउन्डेसन क्लब फर द फ्युचरका लागि दिने ब्लु ओर्जिनले घोषणा गरेको छ ।

बेजोसले अहिले ब्लु ओर्जिनका लागि वार्षिक झन्डै एक अर्ब डलर खर्च गरिरहेका छन्। उनले जुलाई ५ मा अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिन लागेका छन् ।

स्रोतः एजेन्सी


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको