१६ श्रावण २०७८, शनिबार

काङ्ग्रेस सांसद वैद्य भन्छन्ः ‘आवेशमा नाथुराम गोड्से हुन तयार छु भने, अभिव्यक्ति फिर्ता लिन्छु’



२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरूद्ध नाथुराम गोड्से हुन तयार छु भन्ने अभिव्यक्तिपछि चौतर्फी विवादित बनेका वागमती प्रदेश सभाका कांग्रेस सांसद् नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक शुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले आवेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् । उनले आफू स्वयम हत्या हिंसामा विश्वास नगर्ने गान्धीवादी नेता भएपनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मआलोचना गरेको बताए ।

शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै गोड्से बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख तथा आध्यात्मिक नेता महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

वैद्यको अभिव्यक्तिलाई लिएर काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्तिजनक शब्द तर्कले छोप्ने आफ्नो पार्टीको परम्परा नभएको उल्लेख गरेका छन् । शर्माले ट्वीटरमा लेखेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको बताएका छन् ।

विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न काङ्ग्रेसले सांसद वैद्यलाई निर्देशन दिदै विज्ञप्ति समेत जारी गरिसकेको छ ।

नेकपा एमालेका नेता महेश बस्नेतले भने कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य वैद्यलाई कारवाही गर्न माग गरेका छन् । उनले संसदीय मर्यादा विपरीतको वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रूपमा मात्रै नलिन आग्रह गरेका छन् । नाथुराम गोड्सेसँग जोडेर दिएको अभिव्यक्तिले महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र बसनरहेको त छैन भन्ने प्रश्न उब्जिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु