३ आश्विन २०८०, बुधबार

मन्त्री थापाले राजिनामा दिनुपर्ने अडानपछि कर्णालीको बजेट अधिवेशन अवरूद्ध



२६ जेष्ठ, काठमाडौं । सोमबारदेखि सुरू भएको कर्णाली प्रदेश सभाको आठौं बजेट अधिवेशन फेरी पनि कार्यसूचिमा प्रवेश नगर्दै अवरूद्ध भएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने यो अधिवेशन प्रतिपक्षि दल एमालेले अवरूद्ध गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत पुर्याउन फ्लोर क्रस गरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका अम्मरबहादुर थापाका कारण बजेट अधिवेशन अगाडि बढ्न नसकेको हो । अदालतले दोषि ठहर गरेका थापा मन्त्रीका रूपमा अधिवेशनमा सहभागि हुने कुनैपनि नैतिक आधार बाँकि नरहेको प्रतिपक्षि दलको दाबि छ ।

आठौं अधिवेशनको पहिलो बैठकमा कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्री थापालाई बर्खास्त गर्नुपर्ने अडान लिएपनि सोमबार पनि कार्यसूचिमै प्रवेश नगरी बैठक स्थगित गरिएको थियो ।

पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता यामलाल कँडेलले मन्त्री थापालाई हटाए मात्र संसद् अगाडि बढ्न दिने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो । उनले भने, ‘अदालतले दोषी करार गरेका व्यक्ति झन्डा हल्लाउँदै यो सभामा प्रवेश गरेका छन्, कसलाई कहाँ बस्न पाइन्छ त्यसको निर्धारण गर्नुपर्छ । सजाय भोगिसकेको व्यक्ति कुनै पनि तहको सार्वजनिक पदमा बस्न नपाइने व्यवस्था छ ।’

मन्त्री थापालाई हटाउने सन्दर्भमा कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेको दल माओवादीको भने फरक धारणा छ । प्रदेश सरकारका एक मन्त्रीले भनेका छन्, ‘पहिले उहाँलाई नै सांसद् बनाएको दलले अहिले यो कुरा निकाल्नु बजेट अधिवेशन अवरूद्ध गर्नु भनेको जनतामाथि अन्याय गर्नु हो ।’ आफ्नो पार्टीलाई सहयोग नगरेर फ्लोर क्रस गरेकै कारण थापाको पुरानो मुद्दालाई उचालिएको उनले बताए ।

मन्त्री थापा प्रतिपक्षि दल एमालेबाटै यसअघि २०७० मा संविधान सभा सदस्य थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको