वर्षा यामको मनसुन भित्रिनै लागेकाले सतर्क रहन मौसमविदको आग्रह
२५ जेष्ठ, काठमाडौं । मौसमविद्ले वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको बताउदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको भन्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनका अनुसार मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट नै प्रवेश गर्ने गर्छ ।
यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको पौडेलले बताएका छन् । बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रका सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न उनले सुझाव दिएका छन् । उनले भने, ‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि, जोखिमको सम्भावनालाई मध्यनजक गरेर बेलैमा आवश्यक सतर्कता अपानाउन सकियो भने क्षतिबाट जोगिन सकिन्छ ।’
मौसमविद् पौडेलले भने, ‘मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ । काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ । अब एक दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ ।’ पौडेलले आफुहरु निरन्तर अध्ययनकै क्रममा रहेकाले भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्ने बताए ।