१३ आश्विन २०८०, शनिबार

ओलीले गरेको आह्वान जालझेल, अन्योल र भ्रामक भएकाले अस्वीकार्यः माधव नेपाल



२४ जेष्ठ, काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने गलत उद्देश्यले गरेको बताएको छ । नेपाल समूहले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गरेमा सर्वोच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षर फिर्ता लिने विषय स्वतः निरुपण हुने धारण राखेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी एकताका निम्ति आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सार्दै एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुने उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीद्वारा पार्टी एकताका लागि गरिएको आह्वानको सुरुवातमै ‘पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको’ भनिएकोमा नेता नेपालले भनेका छन्, ‘यस्तो बुझाइ रहेको भए हामीले चैत २ गते र त्यसपछि अनेक पटक २०७५ साल जेठ २ गतेको अवस्थामा क्रियाशील बनाऔं भनी अगाडि सारेको उचित प्रस्ताव उहाँबाट अस्वीकृत हुने थिएन होला । हाम्रो निरन्तरको चाहना बमोजिमको पार्टी एकतामाथि कुठाराघात हुनेथिएन होला ।’

सर्वोच्चको फाल्गुन २३ गतेको फैसला पछि तपाईँले पार्टी अध्यक्षको हैसियतले पार्टीको विधिवत् बैठक बोलाएर नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणको विषयमा के गर्ने भन्ने छलफल किन नगराएको भनी नेपालले प्रतिप्रश्न गरेका छन् ।

बरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको पत्रमा पार्टी एकताका आधार, सिद्धान्त र नीति, मूल्य र मान्यताहरू भएको उल्लेख रहेको भन्दै प्रश्न उठाएका छन्, ‘यस्तो स्वीकारोक्ति यथार्थ हो भने फागुन २८ गते र तत्पश्चात् पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णय, पारित विधान, नियमावली र आचारसंहिता विपरीत गरिएका निर्णयहरू एकमुष्ट खारेज गरिएको वक्तव्यमा किन आएन ?’

नेपाल समुहका अुनसार अध्यक्ष ओलीबाट पार्टी विधान विपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको बताइएको छ । पार्टी एकताका लागि आफूहरूले अघि सारेको प्रस्तावलाई सम्बोधन नगरी एकताका लागि गरिएको आह्वान भ्रम सिर्जना गर्न मात्र भएको बरिष्ठ नेता नेपालले बताएका छन् ।

नेपाल समूहले पहिलो नं. प्रस्ताव पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको बताएको छ । पार्टीमा समग्र रुपमा २०७५ जेठ २ गते पूर्वको स्थिति कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको नेता नेपालले बताएका छन् ।

साथै नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका व्यक्तिहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्नुले पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने गरिएको नेपाल समूहको दावी छ । ‘यो पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ’ नेपालले भनेका छन् ।

त्यस्तै मातहतका पार्टी कमिटी र जनसंगठनहरूलाई २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी क्रियाशील गर्नुपर्ने भन्दै नेपाल समूहले भनेको छ, “मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा” फर्कने कुरा गरी मन लागेकोलाई कायम गर्ने र नलागेकोलाई हटाइदिने मनसाय राखिएको नेपाल समुहले बताएको छ ।

प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणामले सर्वोच्च अदालतमा आफूहरूले दिएको रिट निवेदन दिएको नेपाल समुहले बताएको छ ।

नेपाल समुहका अनुसार यसबीचमा भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन भनेर अल्मल्याउने भाषा प्रयोग गरिएको बताइएको छ । नेता नेपालले भनेका छन्, ‘अहिलेसम्म स्वेच्छाचारी किसिमले पार्टी विधान विपरीत गरिएका कथित कारवाही फिर्ता लिने कुरा वक्तव्यमा छैन ।’

नेपाल समूहले ओलीले अघि सारेको प्रस्ताव नवौं महाधिवेशनको निर्णय, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको समेत ठहर गरेको छ । बरिष्ठ नेता नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ, उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ।’ नेता नेपालको वक्तव्यमा भनिएको छ ।

नेता नेपालले अध्यक्ष ओलीमा विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने सोच नदेखिएको भन्दै नेपाल समूहले ६ बुँदे वक्तव्यको भ्रममा नपर्न र पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न आह्वान गरेका छन् । यद्यपि अहिले पनि आफूहरु सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहेको र अन्तिम घडीसम्म सकारात्मक प्रयास गर्ने बताएको छ ।

नेता नेपालले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्वन गर्ने दृष्टिकोण रहेको भन्दै नेपाल समूहले छलछाम र षडयन्त्रपूर्ण बाटोमा नहिंड्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको