११ मंसिर २०७८, शनिबार

राउटे युवतीलाई जबर्जस्ती करणी गर्ने विरुद्ध किटानी जाहेरी



२४ जेष्ठ, सुर्खेत । सुर्खेतको गुर्भाकोटमा दुई राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएको छ ।

आरोपित ३ जनालाई मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । राउटे समुदायकी १९ र २३ वर्षिया २ जना युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध किटानी जाहेरी परेको हो ।

यी तीन जनाले २ जना राउटे समुदायकी युवतीहरूलाई मदिरा खुवाएर लट्ठ बनाई अश्लिल हर्कतहरू गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो । यस घटनालाई लिएर कर्णाली प्रदेशको नेपाल आदिवासी जनजाति महासंघ र राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाललगायत संस्थाहरूले विज्ञप्ति जारी गरी व्यापक विरोध गरेका थिए ।

आरोपित तीनैजनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिई अनुसन्धान सुरू गरिसकेको र गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी दर्ता भइसकेकाले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको