पार्टी एकताका विषयमा ओलीको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्णः प्रचण्ड
२४ जेष्ठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण नेकपा एकताको प्रयास असफल भयो भन्ने कुराको निन्दा र भ्रत्सना गरेका छन् । प्रचण्डले ओलीको त्यस प्रकारको अभिव्यक्ति झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
‘प्रचण्डले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’
ओलीले आइतबार एमाले एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे आह्वानमा प्रचण्डका अनिच्छाका कारण नेकपा एकता असफल भएको बताएका हुन् ।
ओलीद्वारा आइतबार जारी प्रस्तावमा भनिएको छ, ‘सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । यसका लागि समय पनि दिएको हो । पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ तर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन ।’