प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दा फिर्ता हुँदैनः खनाल–नेपाल समूह
२४ जेष्ठ, काठमाडौं । नेकपा (एमाले)को झलनाथ खनाल–माधव नेपाल समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष निकालेको छ । आज बसको स्थायी कमिटी भर्चुअल बैठकले यस्तो ठहर गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
बैठकका विषयमा नेता ज्ञवालीले भने, ‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन । संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नु भएको छैन ।’
सोमबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत नेता ज्ञवालीले बताए । उनले भने, ‘प्रेस वक्तव्य तयार हुँदैछ बरिष्ठ नेताले जारी गर्नुहुन्छ । त्यसमा धेरै कुरा आउँछन् ।’
खनाल नेपाल समुहको स्थायी कमिटीमा भएको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने निक्र्यौल गरेको छ ।
नेता ज्ञवालीले ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गरेकाले यसलाई आफूहरूले गम्भीर रुपमा लिएको बताएका छन् ।