संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता हुन्नः खनाल–नेपाल समुह
२३ जेष्ठ, काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बाह्य शक्तिसामु लम्पसार परेको भनी आरोप लगाएको छ । खनाल–नेपाल समुहले संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि वामपन्थी र लोकतन्त्र पक्षधर दलहरूसँग सहकार्य गर्नु परेको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेको छ ।
खनाल–नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले पार्टी एकतामा जोड दिँदै भनेको छ, ‘अध्यक्ष एवं प्रधानमन्त्री ओलीले वार्तालाई दाउपेचका रुपमा मात्र लिएका छन् । पार्टी एकताका लागि हामीले लिखित रूपमा दिएको पत्रमा उल्लेखित कुराहरू जबसम्म विश्वसनीय रुपमा पूरा हुँदैनन्, तबसम्म वार्ता फगत समय कटाउने चाल मात्र ठहरिनेछ ।’
आफूहरु सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेता पनि अध्यक्ष ओलीबाट संविधान र पार्टी विधान विपरीत गतिविधि भएको भन्दै खनाल–नेपाल समूहले यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरु तत्काल निश्चित समयावधिमा विश्वसनीय रूपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र ओली पार्टी एकताको पक्षमा रहेको ठहरिने बताएका छन् ।
यससँगै केन्द्रदेखि स्थानीय तहसम्म गरिएको निलम्बन र कारबाही तत्काल खारेज हुनुपर्ने भन्दै अन्यथा वार्तामा अल्मलिनुको साटो बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्ने नेपाल समूहको चेतावनीपूर्ण माग रहेको छ ।
बैठकले प्रधानमन्त्री ओली दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ वाह्य शक्तिसामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण गरेको खनाल–नेपाल समूहको निष्कर्ष रहेको छ । आफूहरूले देशमा अनिष्ट हुन नदिन र राजनीतिक स्थायित्व कायम गर्न वामपन्थी र लोकतन्त्रवादी सबैसँग सहकार्य गर्नु आवश्यक भएको भन्दै नेपाल समूहले संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने कुरा प्रष्ट पारेको छ ।