धमारीमा धमिराः अस्तित्वको सङ्कट र संरक्षणको चुनौती
१. विषय प्रवेशः
साहित्यलाई समाजको दपर्ण मानिन्छ । समाजमा जे छ, त्यो साहित्यमा प्रतिविम्वित हुन्छ । जे छैन त्यसको अस्तित्व पनि मानवीय काल्पनिकतामा जन्मन्छ र समाजको भविष्य निर्धारण गर्ने आधार बन्दछ । जे लेखिन्छ, त्यो सौन्दर्य चेतनाको जगमा लेखिन्छ । जे भोगिन्छ त्यसले चेतनालाई आलोक भर्ने काम गर्छ । आलोकित र परिपुष्ट चेतनाले हामीलाई जीवनको नविनता ग्रहण गर्ने क्षमता र दृष्टिकोण दिन्छ । दृष्टिकोणले जीवनलाई मार्गदर्शन गर्दछ । जीवनप्रतिको भावूकतापूर्ण हेराईले सिर्जनाको जग बसाउँछ । जीवन भोगाईका क्रममा आर्जित अनुभव, संवेदना र निचोडको भण्डारण हुन्छ साहित्यमा । त्यसैले त भनिन्छः हितसहितः साहित्यः।
मानव हित नै साहित्यको गन्तव्य मान्नेहरू प्रयोजनवादी कित्तामा दरिन्छन् । कला कलाको लागि भन्नेहरुले कलाको प्रयोजन हिनतालाई वकालत गर्दै कलाको अस्थित्व यसको उपयोगितामा भन्दा कलाधर्मितामा सार्थक ठान्छन् । कलामा अन्तरनिहित सौन्दर्य र रस क्षमताको ह्रास किन हुन्छ, सबै सिर्जनाहरु अजर अमर किन हुँदैनन्, यस्ता कौतुहलता केवल दार्शनिक जिज्ञासा मात्र नहोलान् भन्ने आभास हुन्छ । सिर्जनाले मानव मनमा पार्ने गहिरो प्रभाव र त्यसले मानवताको व्यवहारिक पूर्णतामा गरेको योगदान जस्ता विषयले नै सिर्जनाका फूलहरू कालातित भई फक्रने र नओइलिने गर्छन भन्ने मानिन्छ ।
नेपाली लोक साहित्यका अनेक हाँगाविँगाहरुको उत्थान र पतनमा पनि कलासम्बन्धी प्रयोजनवादी दृष्टिकोण हावी भएको पाइन्छ । देउडा थप तन्नेरी हँुदै छ तर धमारीमा धमिरा लाग्ने क्रम उहिलैदेखि नै थालिएको हो, यो क्रम जारी छ । उपयोगितावादी मतको हातेविष लागेकोले नै धमारीका पुष्पछियाँहरू फुतफुतु कुहिने र झर्ने क्रम जारी रहेको होला । आज धमारीका जरामा धमिराहरूको घनावस्ती छ । धमारी मरणासन्न अवस्थामा छ किनकि धमारीको जरा खाँदै बाँचेका विषालु धमिराहरूले यसको अस्थित्व संकटमा पारेका छन् । अस्थित्वको अन्तिम प्राण फेरिरहको धमारीको संरक्षण कसरी गर्ने भनी चिन्तित मनहरु एक ठाउँ जम्मा भएको पाइन्न । लोक संस्कृतिका पहरेदारहरू आज धमारीको खोज तलासमा देखिन्नन् । अतः धमारीको सैद्धान्तिक होइन, व्यवहारिक पक्षमा सानो चर्चा गर्ने र यसको जरामा धमिरा किन लागे, ती कीरा मार्ने उपाय केही छ कि जस्ता जिज्ञासाको जवाफ खोजौं भन्ने ध्येयमा यो छोटो लेख केन्द्रित गरिएको छ । धमारीे लेखेर भन्दा खेलेर नै बाँच्नेछ भन्ने यस लेखको निष्कर्ष छ । निकर्षमा विमति स्वागतयोग्य र मनन्योग्य छ तर “धमारी खेलौ र बचाउँ” भन्ने अपेक्षा गरिएको छ ।
२. लोक साहित्यको आयामभित्र धमारीः उद्भव, विकास र बुढ्यौली
नेपाल लोक साहित्यको दृष्टिले अति नै सम्पन्न देश हो । विविधता यसको गरिमा हो । बहुलता यसको पहिचान हो । मध्यपश्चिमको नेपाली समाजले लोक साहित्यको जगमा आफ्नो जीवनको ताल मिलाउन कहिलेदेखि थाल्यो भनी एकिन साथ बताउन सकिने अवस्था देखिदैन । भाषाको प्रकृति नै सभ्यताको लयलाई समेट्ने खालको मानिन्छ । धमारीमा समेटिएको भाषा र शैलीको गहिराई नाप्ने हो भने थाहा पाइन्छ कि यो हाम्रा अग्रजको धमनीको चालसितै झाँगिएको रहेछ । यसको जन्मकुण्डली कहिलेको हो भनी जान्न लोक साहित्यको इतिहासको गहिराइसम्म जानु पर्ने खाँचो हुन्छ । धमारीको इतिहास पनि साहित्यको इतिहासको गर्भमै कतै छिपेको होला । यसको सबै इत्तिवृति यस लेखको गन्तव्य होइन तर के मात्र सङ्केत गरिन्छ भने इतिहासका अध्यताहरुलाई धमारीको इतिहास जान्ने चासो र चिन्ता भएका खण्डमा त्यसले मध्यपश्चिमको माटोमा आदिकालदेखि चलिआएका सबै शासकीय र सांस्कृतिक पक्षहरुको नालीवेलीसम्म जाने मार्ग प्रशस्त अवश्य गर्ने छ । यसमा थप जिज्ञासाकोे लागि गवालिनीको धमारीमा प्रयोग भएको निम्न भाषाको अवलोकन गरौं, धमारीको भाव भाषा दुवैमा आदिमता, ऐतिहासिकता र मौलकता स्पष्ट झल्कन्छ ।
राजीको प्रश्न
“कसकी हौ तमि गवालिनी, कां तमी दही बेच्न ले हे दही बेचन, जान न दे हे दही वेचन”
गवालिनीको जवाफ
“हौ हामी कंश रायाकी गवालिनी, मथुरा दही बेच्न ले हे दही वेचन,जान पो दे हे दही बेचन”
यसको उद्भव, विकास र बुढ्यौलीको विषयमा थप तथ्यहरू समय क्रममा उजागर हुने नै छन् । लोक साहित्यका अनुरागीहरूको मानसपटलमा जिज्ञासाको ज्वाला थप मडारियोस् र कौतहलताले निदान खोज्न पे्ररित गरोस्, आफ्नो ध्येय सफल भएको मान्ने छ । सन्तोष लाग्ने छ ।
३. धमारीः विधागत वर्गीकरणः अन्यौल र अभ्यास
धमारीको विषयमा लोक साहित्यका पारखीहरुको बीचमा धेरै अन्यौल रहेको छ । त्यसै गरी धमारीको रसमा पौडिने तर प्राज्ञिक चेतनाधिमा भएका धमारी खेलाडीहरुमा पनि यसको विधागत अन्यौल रहेको पाईन्छ । कसैले यसलाई देउडाको शाखा मानेको पाइन्छ र निम्न देउडालाई पनि धमारी भनी खेल्ने चेष्टा गरी धमारीकै स्वाद आएको अभिनय गर्ने गरेको पाइन्छ । यस भ्रमलाई उसिनेको फर्सीको झोलको स्वादलाई खुदोको स्वाद ठान्ने वचकाना भ्रम भन्न सकिन्छ ।
चौकी कोटका चाफुल्ला पाक्या २
चौकी कोटका चाफुल्ला पाक्या हिड साली चाफुल्ला टिपन जाउँ
देउडाले दिने स्वाद देउडाको आफ्नै मौलिक स्वाद हो । यसको महत्वलाई कम आँकलन गरिएको होइन तर धमारीको स्वादै नचिन्ने अवस्था आईसकेको आजको समयमा ठाडी भाकालाई पनि धमारीकै दर्जामा राखिने पो हो कि भन्ने चिन्ता र आशङ्का रहेको छ । रसगत र रचनागत भिन्नताले नै साहित्यका अनेक विधाको जन्म हुन्छ । सबै विधालाई तिनको प्रकृति, रस र स्वरूपको आधारमा सम्मान गर्न सके मात्र साहित्य र संस्कृतिको बहुआयामिक संरक्षण हुन सक्दछ ।
धमारीको लागि आवश्यक पर्ने बाजा र तिनको ताल, धुन, खेलाडीको पाइलाको गति र चाल, शारीरिक हाउभाउ, धमारी गाउँदा प्रयोग गरिने रीटक र उचकले ल्याउने संगितात्मकतालाई विश्लेषण गरेर मात्र यसको विधागत वर्गीकरणको विषयमा एकिन गर्न सकिने छ । तर यी कुनै पनि विषयहरूलाई नहेरी देउडा र यसका शाखाहरूलाई अलिकति नयाँ स्वरूपमा देख्नासाथ “ए यो त धमारी रहेछ” भन्ने निष्कर्ष निकाल्दा यसले एकातिर साहित्यको जगेर्ना गर्ने कार्यलाई नै विग्भ्रम गर्ने जोखिम रहन्छ भने अर्कोतिर धमारीलाई नै पहिचान नमिल्ने खतारा पनि उत्तिकै रहन्छ । धमारीको खेलाई र अभ्यासले नै विधागत स्पष्टता ल्याउन सक्ने छ । प्राज्ञिक वहसले मात्र स्पष्टता भन्दा थप अन्यौल सिर्जना गर्न सक्ने भय रहन्छ । अनेक पटकको अवलोकनले नै जुम्लाहा र तिम्ल्याहा बच्चाको विषयमा पृथकता देख्न आमालाई सजिलो भए झैँ धमारी खेल्दै गएपछि र रसमा भिज्दै रहेपछि मात्र खेलाडीको मनमा धमारीको रस बढ्ने छ अनि खेलाई बाक्लिएर परिणाममा यसको संरक्षण पनि भैहाल्ने अवस्था आउने छ भन्ने मेरो विश्वास र मान्यता हो ।
४. धमारीका सन्देशहरू
धमारीहरूले कथा र कहानीहरू, वास्तविक जीवनको चर्चा र मानवीय सम्बन्धका अनेक आयामलाई आत्मसात गरेको पाईन्छ । प्रायः सबै धमारीहरुका कहानीहरुले तत्कालिन राजा महाराजाको प्रशस्ती, दिनचर्या, वीरता तथा कृती कार्यहरूको विषयलाई आत्मसात् गरेको देखिन्छ । धमारीले बोक्ने यस्ता विषयहरुको ऐतिहासिक सन्दर्भ समाप्त भै सकेकाले पनि धमारीको पतोन्मुख स्थिति आएकोे हुन सक्छ । धमारीहरुको सङ्ख्या र तिनको विधागत विविधता पनि जिज्ञासाको विषय नै छ किनकि ती धमारीको मात्र हालसम्म धुकधुकी बाँकी जसले मानवीय सम्बन्धका प्रितिमय एवम् पे्रमिल आयामलाई बोक्न सके वा माया, प्रेम, यौन र विहेवारी जस्ता विषयलाई मानवीय जीवनका अभिन्न अङ्गको रुपमा स्वीकार गरे । माथि उल्ल्ोख गरिएको गवालिनीको धमारीमा पनि नदी तराउने राझी र मथुरामा दूध बेच्न हिँडेकी गवालिनीको विपरीत लिङ्गीय आक्रर्षणले सिर्जना गरेको तनाव वा द्वन्द्वले नै धमारीको छाल र चाललाई बचाएको हो भन्ने आधार दिएको छ । जहाँ माया पिरतिका विषय वा जीवनका शाश्वत सत्यहरूलाई बोकेर साहित्य लेखिए वा जन्माइए, त्यहाँ साहित्यले अनेक आँधी खेपेर पनि आफ्नो अस्तित्व जोगायो र झाँगियो । तर सतही विषयलाई बोक्ने लोक साहित्य समयको प्रवाहसितै असिना विलाए झैँ विलायो, हरायो । एउटा अर्को धमारीका केही अंशको अवलोकन गरौ ।
सुरीवमको धमारी
उमाहा देशका सुरीवम्म, सुरीवम्म
सुन बाँसुरी सुनी मन रोयो सुरीवम्म
उदाहा देशकी गौ गोरी जवा रानी,
जवाको जोवन ढली रयो जवा रानी ।१)
तमारा बाबुज्यूले हाम्राई दिन्छन् जवारानी
जवाको जोवन ढली रयो जवा रानी
हमारा बाबुज्यूले दियापछि तम्राई जाउला,
सुरीवम्म सुन बाँसुरी सुनी मन रोयो सुरीवम्म ।२।
यस धमारीका प्रथम ४ हरफमा उमाहा (काल्पनिक वा वास्तविक देश) देशको राजकुमार सुरी बम र उदाहा देशकी जवा रानी नामकी राजकुमारी बीचको प्रेम वार्तालाई कथा वनाएको छ । राजकुमारले बजाएको बाँसुरीको धुनले राजकुमारीको मन रोएको कुरा राजकुमारी बताउछे भने जवा रानीको जोवन ढल्कन लागेको विषयलाई कोट्याउदै आफ्नी रानी बन्न सुरीबमले आग्रह गरेको छ । जवा रानी मैयाले विहे गर्न राजी नभएको बताएपति राजकुमारले उनलाई जसरी पनि विहे गर्ने जिद्धी गर्दै तिम्रा बा ले मलाई नै दिनेछन् भन्ने आशा व्यक्त गर्छ । परिवारका सबै सदस्यले नै दिन राजी भएमा आफू पनि रानी बन्न तयार भएको कुरा जवा रानीले बताउँछे ।
यो धमारी निकै लामो भएकोले पूरै धमारी उल्लेख गर्न स्थान अभाव रह्यो तर यसको अन्तिम हरफ हेरौं ।
तमारा भाउल्याज्यूले हाम्राई दिन्छन् जवारानी, जवाको जोवन ढली रयो जवा रानी
हमारा भाउल्याज्यूले दियापछि तम्राई जाउँला, सुरीवम्म सुन वासुरी सुनी मन रोयो सुरीवम्म ।
अन्तमा भाइले समेत दियो भने मात्र विहे गर्ने भन्ने जवा रानीको आश्वासनसँगै यो धमारी को समापन गरिन्छ । यो धमारीमा समेटिएको प्रेम कहानी नै यसको अमरताको एक कारण हो भन्न सकिन्छ ।
५. धमारीः उचक र रिटक तथा पाइला र ताल
धमारीको कथा वस्तु जति रोचक र रसमय हुन्छ यसको साङ्गीतिक पक्ष, बाजा, सुरताल पाइला र खेलाईको तरिका त्यत्तिनै जटिल हुन्छ । यसै जटिलतालाई धमारीको धमिरा मान्न सकिने देखिन्छ । भाकामा जति आनन्द छ, पाइलाको चालमा र दमाहाको तालमा त्यति सहजता छैन । अभ्यास आफै निकै कष्ठसाध्य छ । धमारीका खेलाडीहरू एउटै घेरा वा लहरमा धमारी खेल्छन् तर तिनका बीचमा आलोपालो सवाल जवाफको दोहोरी चल्छ । एक पक्षले उचक दिने र अर्को पक्षले रिटकवाट धमारी अघि बढाउने गरिन्छ । माथि उल्ल्ोख भएको जवा रानीको र सुरबमको सवाल जवाफमा एक पक्षले रानीको र अर्को पक्षले राजाको पक्षमा धमारी भाका घन्काउने गर्दछन् । प्रथम पक्षले उचक स्वर (लय) दिएपछि दोश्रो पक्षले चाहिँ रिटक स्वर (लय) दिई धमारी खेललाई बढी जीवन्त बनाउने काम हुन्छ ।
धमारीको सबै भन्दा जटिल पक्ष हो वाजासित पाइलाको चालमिलाउनु । पाइलाको चाललाई शब्दमा व्याख्या गर्न कठिन मात्र होइन अव्यवहारिक पनि छ किनभने खेलाडीका पाइलाहरू दमाहाको “ट्याङ…ट्याङ..टयाङ…..ट्याङ” सुनिने साङ्गीतिक आवाजमा नै अघि बढ्छन् । हिला बायाँ खुट्टालाई चालमा ल्याई पछाडि लतार्ने, दायाँले जीउ थाम्ने त्यसपछि वाजाको तालसितै दायाँ खुट्टा पछाडि लतार्ने र बायाँले खेलमा चम्केको जीउ थाम्ने अनि अघि बढ्ने गरिन्छ । “बायाँदायाँ बायाँ” नै धमारी खेल्दै घेरालाई अघि बढाउने तरिका हो । जस्तैः पाइलाको चाललाई माथिको धमारीको पहिलो हरफसित निम्न बमोजिम मिलाउने गरिन्छ ।
कसुकी ः वाजाको तालमा धमारी गाउदै बायाँ पैतला पछाडि लतार्ने
हौ तमिः दाँया खुट्टाले जीउको भार थाम्दै ढल्कने
गवालिनीः वाजाको तालमा धमारी गाउदै दायाँ पैतला पछाडि लतार्ने
काँ तमी ः बायाँले जीउको भार थाम्ने
दही बेच्न ले हे दहीः बाजाको तालमा धमारी गाउदै बायाँ खुट्टालाई क्रमश पछि लतार्ने, फेरि अगडि ल्याउने, कदम अघि बढाउँदै घेरामा घुम्ने । यही प्रकिया खेल अवधिभर चल्छ ।
धमारीको भाकाहाली सबै भट्याउन सक्नेहरुले पनि माथि उल्लेख भएझै पाइला मिलाउन नसकी खेललाई गडवढ गरी दिन्छन् । एउटा खेलाडीको पाइलाको चाल बिग्रेपछि सबैको चाल बिग्रन्छ । धमारी गाउँदै बाजाको ताल सुन्दै हातको हाउभाउ सहित पाइला मिलाउन (पाइला चाल्न) नसक्ने भएकोले नै धमारी खेल्दा खेलाडीको सङ्ख्या निकै कम र हेर्ने (रम्चाउने)को सङ्ख्या अधिक हुन्छ ।
६. धमारीको संरक्षणः चुनौती र उपाय
हामी नेपालीले नै हाम्रो साहित्य र संस्कृतिको जगेर्ना गर्ने हो । पहिचान र अस्थित्वको रक्षासित जोडिएको यो काम सबैको साझा हो । तर नेपाली साहित्य र संस्कृतिका कतिपय विधाहरु लोप हुने अवस्थामा छन् । संकटग्रस्त लोक साहित्यको एक विधा धमारी हो, यो पनि आज संकटमा छ । धमारी र यस्तै अन्य लोक साहित्यको संरक्षण कसरी गर्ने भन्ने चुनौती आजको खडा भएको छ । सबैले धमारी खेल्न जानेको वा सिकेको भए धमारीमा धमिरा लाग्ने थिएन । संरक्षण कार्य चुनौतीपूर्ण हुने थिएन ।
धमारीको अस्थित्व सङ्कटमा पर्नुका कारण अनेक हुन सक्छन् । लोक गीतहरु, ठाडीभाका र झ्याउरे गीत जस्ता नाच्न उफ्रन मिल्ने खालका विधाको लोकप्रियताले धमारीलाई विस्थापित गरेको छ । यसमा समावेश भएको विषयवस्तु कम सन्दर्भिक र रसयुक्त देखिएको छ । आधुनिकता तर्फको यात्रामा निस्केको आजको मान्छेले जे जस्तो नयाँ स्वाद र रसको अपेक्षा गरेको छ त्यो धमारीले दिन सक्ने अवस्था छैन । मेरो पुस्ताका दौतरीलाई धमारीका कुराले जति छुन्छ, मेरो छोराको पुस्तालाई छुदैन । मादलको तालमा जीउ मकाई मर्काई डिस्को नाँच्न रमाउनेहरुलाई धमारीको उचक र रिटकले नचाउछ सकेको पाईदैन । आजको विश्वव्यापीकरणको युगमा मान्छेले सूचना तथा प्रविधिको प्रयोगबाट मनोरञ्जनका अत्याधुनिक विकल्प पाएको देखिन्छ । छोटा, सरल, सहज र शीघ्र मन छुने विधाको खोजी भैरहेछ आज । समयको प्रवाह र मनको चाहानालाई समेट्न नसक्दा सिर्जनाहरु धमिराको आहार बन्दा रहेछन् ।
धमारीको अस्तित्व सङ्कटमा पर्नाको मूल कारणहरूमध्ये यसमा पाइलाको चालमा रहेको जटिलता हो भन्ने मेरो ठहर छ । धमारी खेलमा चालिने पाइलाको चाल र दमाहाको तालमा अलिकति सरलता वा परिमार्जन ल्याउन सक्ने हो भने धमारी लोकप्रिय बन्न सक्नेमा शङ्का छैन । धमारीको भाका र भाषाको पनि नवीनता आवश्यक छ । भाषागत तथा भाकागत जडतालाई हटाएर नयाँ रूपमा धमारी लेखन नगर्ने हो भने लोपोन्मुख जातिहरु जस्तै धमारी पनि लोकसाहित्यको लोपोन्मुख विधाको रुपमा हराउने अवस्थामा पुग्नेछ । आजसम्म पनि जहाँजहाँ धमारी खेलिदैछ त्यहाँको नयाँ पिँडीमा यसको विस्तारमा जाँगर घटेको देखिन्छ । मोवाईलमा डाउनलोड भएका अनेक गीतहरुले कार्यथलोमा समेत मनोरञ्जन दिइरहेको अवस्थामा धमारीलाई आजको यथार्थतामा गाँसेर नवजीवन नदिने हो भने यसको संरक्षण दिवास्वप्न हुनेछ ।
७. निष्कर्ष
साहित्यका सबै विधाहरूको कार्य र प्रयोजन समान हँुदैनन् । साहित्यका अनेकौ विधाहरुले यसको भण्डारलाई भरिभराउ पार्छन् । कुनै एउटा विधाले मात्र सबै नव रसोत्पन्न गर्न सक्दैन । एकै रसमा जीवन चल्दैन । सप्तरंगी जीवनले अनेकताको अपेक्षा गर्दछ । साहित्यका चौरासी व्यञ्जनले मात्र मानवीय चाहानाहरुको तृप्ति गर्न सक्छन् । यो विधा कम र अर्को विधा बढी महत्वको हुन्छ भन्ने मान्यता पनि गलत हो । एकै मात्र फूल फुल्ने फूलबारी पनि विरक्त लाग्दो हुन्छ । धमारी विनाको नेपाली लोक साहित्य अपूर्ण हुने छ । त्यसैले धमारी अमुक वर्ग वा क्षेत्रको साहित्यिक धरोहर हो भन्ने मान्यतालाई बदली यसलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गर्नु पर्ने हुन्छ । धमारी मूलतः नेपाली भाषाको उद्गम क्षेत्रमा यद्यपि खेलिँदै छ । यसको गहनता र गाम्भिर्यतामा त्यस क्षेत्रमा कमी आएको छैन । यसलाई संस्थागत रूपमा संरक्षण गर्ने प्रयासहरूलाई तीव्रता दिने हो भने यसको जगेर्ना गर्न कठिन देखिदैन । अब कर्णाली र ७ नं. प्रदेशका सबै शैक्षिक संस्थाहरूले अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दा सांस्कृतिक कार्यक्रमको अभिन्न अङ्गको रुपमा धमारीलाई समेटी आवधिक रूपमा आफ्ना विद्यार्थीहरूलाई प्रशिक्षित गर्ने हो भने धमारीमा लागेका धमिराको बीउ भुटिने सम्भावना छ र धमारीले पुनःजीवन हासिल गर्ने छ । कोमामा रहेको धमारीको शीघ्र स्वास्थ्य लाभको कामनाले मात्र जरामा बसेका धमिरा मर्ने छैनन् । सबैको सस्थागत र सक्रिय हातेमालोले मात्र धमारी वचाउने अभियानलाई टेवा पुग्ने छ । लेखेर होइन खेलेर मात्र धमारी बचाउन सकिने छ । धमारी खेलांै खेल्न प्ररित गरौं । धमारीको गरिमा बढेमा नेपाली साहित्यको गरिमा स्वतः बढ्ने छ ।
न्याउल्या काव्य ‘सौंराई लागी राइसुवाकी’का लेखक खत्री नेपाल सरकारका उप–सचिव हुन् ।