महतोको असंवैधानिक अभिव्यक्तिबारे ओलीको धारणा के हो ?: खनाल–नेपाल समूह
२२ जेष्ठ, काठमाडौं । नेपालको संविधान अन्तर्गत प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त भएका राजेन्द्र महतोले सरकारमा जानासाथ दिएको विवादास्पद अभिव्यक्तिको नेकपा (एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यले निन्दा र भ्रत्सना गरेका छन् ।
खनाल–नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरूका नामबाट जारी विज्ञप्तिमा विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनिय भएको बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौंगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध छ ।’
यस्तो विषय कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य नहुने भन्दै उपप्रधानमन्त्री महतोको संविधान विरोधी अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीलाई स्पष्ट गर्न खनाल–नेपाललगायतका १५ जना स्थायी कमिटीका सदस्यहरूले समेत माग राखेका छन् ।