२० श्रावण २०७८, बुधबार

उपप्रधानमन्त्री महतोको पुत्ला जलाउने अखिल नेता पक्राउ



२२ जेष्ठ, काठमाडौं । नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा बिद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि महतोले नेपाल एकल राज्य हुन नसक्ने विवादित अभिव्यक्ति दिएपछि आलोचित बनेका छन् । महतोले पदभार ग्रहण गर्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्तिको आन्दोलनको तयारी गरिरहेको बताएका थिए ।

यस्तै शनिबार जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’

नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै उनले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनको भनाई छ ।

यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

बिद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा पराजुली लगाएत दर्जन बढी बिद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको छ ।

विद्यार्थी नेताहरुको गिरफ्तारीलाई लिएर अनेरास्ववियुका सचिव नरेश न्यौपानेले फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका छन् ।

गिरफ्तार विद्यार्थी नेताहरुलाई तुरुन्तै रिहाई गर !

रास्ट्रघाती ओली गुट र त्यस गुटको सरकारको बहुराष्ट्रको नारा फलाक्ने उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिरहँदा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरति लामा सहितका केन्द्रीय नेताहरुलाई प्रहरीले बानेश्वरबाट गिरफ्तार गरेको छ । प्रहरीको दमनबाट अध्यक्ष पराजुली घाइते हुनुभएको छ । अहिले हाम्रा एक दर्जन नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । आम नेपाली जनताको शीर निहुरिने गरी सरकारको उपप्रधानमन्त्री बनेको व्यक्तिले दिएको सार्वजनिक अभिव्यक्तिका विरुद्ध कोरोना कहरको समेत वास्ता नगरी स्वत: स्फुर्त प्रतिरोधमा उत्रिएका संगठनका नेता/कार्यकर्ताको पक्राउ अत्यन्तै निन्दनीय छ । देशद्रोही अभिव्यक्ती दिने महतोलाई सम्मान र रास्ट्रको पक्षमा आवाज उठाउने युवा विद्यार्थीलाई जेल ! केपी ओली सरकारले गर्न खोजेको चाँही के हो ? अनेरास्ववियुद्वारा आयोजित पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि संगठनका अध्यक्ष र महासचिवसहित सचीवहरु तपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा र मेघनाथ चापागाईं तथा लक्ष्मी क्षेत्री, आकाश खनाल र हर्क बम लगायतका नेताहरुलाई पक्राउ गरेको छ । सबै नेताहरुको अविलम्ब रिहाइको माग गर्दछु । रास्ट्रघाती सरकार : मुर्दावाद !


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु