सिंहदरवारको अहंकारी
लुगा धुँदै गर्दा झट्ट १ थान कमिलामाथि आँखा परे
प्वाँख पलाएर कमिलो दोधारमा थियो सायद,
अब उडान भरौँ कि, दुई थान प्वाँख बोकेर लखरलखर हिँडौँ
जे होस् ऊ धोएर सुकाएको टालोमाथि हिँडिरहेको थियो
मलाई लाग्यो–
धरतीमा मान्छे कमिलासरी अस्ताउन थालेपछि
कमिलाका प्वाँख पलाएछन्
निरीह कमिलो बेचैन भौँतारिँदै थियो
भूगोलकै सर्वश्रेष्ठ प्राणी मान्छेको त यस्तो हालत छ
म मान्छेकै पैतालाले कुल्चिइरहने कमिलोको खैरियत छैन
आकाशमा उडौँ भने सजिलै चराको आहारा बन्ने पक्का छ
प्वाँख बोकेर कमिलाको बथानमा कसरी बस्नु …
मैले सोच्दासोच्दै गायब भयो कमिलो
उसले उडान भर्यो, हावाले उडायो या त भौँतारिदै दुलोभित्र पस्यो
मानव अस्तित्वमाथि नै प्रश्न खडा भइरहेका बेला
प्वाँख पलाएको कमिलो देख्दा लाग्यो –
कतै सृष्टिकर्ताले जनावरभन्दा पनि
निर्दयी बनेको मान्छेलाई सजाय दिइरहेका छैनन् ??
सिंहदरबारमा बसेको अहंकारीले बुझ्दैन मान्छेको व्यथा
अहिले ऊ सिंहजसरी झम्टिरहेको छ मान्छेलाई
ब्वाँसाहरु उसको चालै नबुझी उल्टोसुल्टो ताली ठोकिरहेछन्
मान्छे सिंह हुँ भन्दै गर्जिएको चित्त नबुझेर
कमिलामा प्वाँख हालिदिए कि सृष्टिकर्ताले ?
अब कतै सिंहदरबारमा जङ्गलको राजा सिंहको
हुंकार सुनिने त होइन ?
संसद् भवनमा चितुवाको बैठक,
बानेश्वरमा स्यालहरुको चक्काजाम,
अनि माइतीघर मण्डलामा ब्वाँसाहरु
कतै गर्ने त होइनन् नाराबाजी –
हामीले पनि मान्छेको शिकार गर्न पाउनुपर्छ !
सिंहले ब्वाँसाको माग सम्बोधन गरिदियो भने…
कोरोना भूतले थलिएका हामी नेपालीको हालत के होला ?
कि फेरि हामी वीर गोर्खालीका सन्तानहरु हौँ भन्दै ब्वासाहरुसँग लड्नुपर्ने हो?