गलत शासकबाट शासित हुनुभन्दा तातो गोली थाप्दै विद्रोह गर्नु धेरै उँचो कुरा होः रामकुमारी झाँक्री
२२ जेष्ठ, काठमाडौं । नेकपा (एमाले) की युवा नेतृ रामकुमारी झाँक्रीले २०७७ चैत्र को २ गते नेताहरू बसेर छलफल गर्दा सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेष्ठ २ गतेको नेकपा (एमाले) हरेक कमिटीलाई व्युँताउने कुरा बटमलाइन भएता पनि अहिले वटमलाइन नयाँ शर्तसहितको हुने बताइन् ।
युवा नेतृ झाँक्रीले प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा भनिन्, ‘अव नयाँ शर्तमा पार्टी एकता हुनु पर्दछ । पार्टी एकता गर्ने हो भने सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद विघठन गरेर कुरा गल्ती गरेको भन्दै संसद पुनस्र्थापनाको पत्र राष्ट्रपतिलाई पठाई प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ । त्यसपछि म पार्टी अध्यक्ष हुँदैन मैले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारे, सत्यानास पारे र मेरो हातबाट कम्युनिस्ट आन्दोलनलाई रायमाझी पथतिर लगें भनेर आत्मआलोचित भएपछि मात्र पार्टी एकता सम्भव छ ।’
२०७५ साल जेष्ठ २ गतेदेखि आज २०७८ जेष्ठ २१ गतेसम्म आइपुग्दा पनि त्यसपछिका ओलीले गरेका अपराध कर्म, राष्ट्रघात, संविधान विरोधी क्रियाकलाप, लोकतन्त्र विरोधी काम, मानवाधिकार विरोधी क्रियाकलापको साक्षी बस्न आफूहरू कदापी नजाने कुरा नेतृ झाँक्रीले बताइन् । उनले भनिन्, ‘यदि त्यस्तो पार्टीका लागि सहिछाप गर्नु पर्ने हो भने त्यस खालको पार्टी किन चाहियो हामीलाई ? हामीलाई त स्वतन्त्र विवेक प्रयोग गर्ने पार्टी चाहिएको हो । त्यस्तो पार्टी एक भइरहनु पनि जरुरी छैन् । गलत र अनैतिक शासकबाट शासित हुनुभन्दा तातो गोली थाप्दै विद्रोह गर्नु हरेक स्वाभिमानी नागरिकका लागि धेरै उँचो कुरा हो । एकता हाम्रो चाहना हो तर खड्गप्रसाद ओलीको चाहना विना एकता हुँदैन् । उहाँको चाहना भनेको हामी यो अपराध कर्ममा हामी सहिछाप गरौं तर हामी हाम्रा हात काटिन्छन् सहिछाप गर्दैनौं । त्यसकारण आजको दिनमा यहि रूपमा यी अपराधहरूलाई साक्षी राखेर पार्टी एकता सम्भव छैन् ।’
कार्यक्रम प्रस्तोता ऋषि धमलाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरेमा के हुन्छ भन्ने प्रश्नको जवाफमा नेतृ झाँक्रीले भनिन्, ‘सर्वोच्चले संसद पुनस्र्थापना नगरेमा पानीमा आगो लाग्छ । प्राकृतिक रूपमा पानीमा आगो लाग्न सम्भव छ कि छैन् ? संसद पुनस्थापना नगर्ने कुरा त्यस्तै अप्राकृतिक काम हुन्छ । हामीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका संसदका एक जना माननीय सदस्यको दावी पुग्दैन भनी राष्ट्रपतिले खारेज गरिदिनु भयो । त्यसको बदरका लागि हामीले बहुमत सिद्ध गरेर १४६ जना सांसदहरूले सर्वोच्चमा मुद्दा लगेका छौ भने १४९ जनाले सनाखत गरेका छौं । त्यसकारण हामीलाई विश्वास छ कि संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार बन्छ । त्यो प्रधानमन्त्री मात्र बन्दैन संसद पनि पुनस्र्थापना हुन्छ । त्यो सरकारलाई हामीले संसदमार्फत् जनताप्रति उत्तरदायी बनाउँछौं ।’