उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ ओली सरकारको राज्यमन्त्री
२२ जेष्ठ, काठमाडौं । चार वर्ष अघि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन्।
तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उपमेयरको उम्मेदवार बनेकी गुरूङले जम्मा ९९ मत मात्र पाएकी थिइन । टोखा नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले आठ हजार ९८ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।
ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गरेका हुन्। उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरी सकेकी छिन्।
नवनियुक्त राज्यमन्त्री गुरूङ स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। उपप्रमुखमा पराजित भएपछि उनलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेकी गुरुङले पछिल्लो समय अर्का अध्यक्ष महन्थ ठाकुरलाई सघाएकाले राज्यमन्त्री बनाइएको ठाकुर पक्षको भनाइ छ। उनी जसपा एकीकरण हुनुअघि फोरमलाई फुटाउने ६ जना सांसदमा संलग्न भइ प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। अहिले फेरी जसपा विभाजनको संघारमा पुगेको छ।