२४ श्रावण २०७९, मंगलवार

कोभिड–१९ रोग लागेका मध्य कसलाई र कहिले अस्पताल लैजाने ?: डा. भगवान कोइराला



२१ जेष्ठ, काठमाडौं । मुटुरोग सम्बन्धी बरिष्ठ चिकित्सक तथा चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. भगवान कोइरालाले कोभिड–१९ संक्रमित मध्ये कसलाई र कहिले अस्पताल लिन भन्ने विषयमा जनहितका लागि सन्देश प्रवाह गरेका छन् । उनले अनुसार कोभिड लाग्यो भन्दैमा वा पोजेटिभ रिपोर्ट आयो भन्दैमा धेरै आत्तिनु जरुरी छैन भनेका छन् ।

डा. कोइराला भन्छन्, ‘यो अप्ठ्यारो रोग हुनसक्छ तर बहुसंख्यक करिब ८० प्रतिशतभन्दा बढि कोभिड पोजेटिभ भएका विरामीहरू आफै निको हुन्छन् । थोरै प्रतिशत संक्रमितलाई यसले गम्भीर रूप लिन सक्छ र अस्पतालमा उपचार गर्न जानुपर्ने हुन्छ । कोभिड पोजेटिभ भएका सबै जनालाई अक्सिजन चाहिँदैन अथवा सबैलाई अस्पताल पनि जानु पर्दैन । रोग लागेका मध्ये कतिलाई र कहिले अस्पताल जाने भन्ने विषयमा स्वास्थ्यकर्मीको सल्लाह लिएर मात्र अस्पताल जानुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट डा. कोइरालाले जनहितका लागि जारी सन्देश बमोजिम यदि कोरोना पोजेटिभ भएको छ र ५ दिनभन्दा बढी १००.४ भन्दा बढी ज्वरो लगातार आइरहेको छ भने सिटामोल खाएर पनि ज्वरो नघटेमा, सास फेर्न गाह्रो भएमा, अक्सिमिटरले नाप्दाखेरि लगातार ९२ वा कम स्याचुरेसन देखाएमा वाअरु हिसाबले पनि धेरै कमजोर दुर्वलता भई असाध्यै गाह्रो भयो भने स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नु पर्छ वा अस्पताल जानुपर्छ ।

सन्देशमार्फत् डा. कोइरालाले भनेका छन्, ‘घरमै औषधी र अक्सिजन स्वास्थ्यकर्मीको सल्लाह विना लिनु उपयुक्त हुँदैन । यो पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु कि पछि अक्सिजन चाहिएला भनेर आजैदेखि जोहो गर्ने बुद्धिमानीपूर्ण काम नहोला । आवश्यकता परेमा अस्पतालमै उपचार गर्न जानु बुद्धिमानी हुन्छ । सामान्य बाहेक अन्य विभिन्न औषधीहरू स्वास्थ्यकर्मीको सल्लाहबाट मात्र लिनु उपयुक्त हुन्छ । घरमा बस्दा के कस्ता सावधानी उपनाउने ताकि यहाँको कोभिड अरु परिवारका सदस्यलाई नसरोस् त्यो एकदमै महत्वपूर्ण कुरा हो ।’

डा. कोइरालाले यी ४–५ वटा परिस्थितिमा स्वास्थ्यकर्मीलाई सम्पर्क गरी अस्पताल गएमा उपचारहरू गर्न सहज हुने बताएका छन् । उनका अनुसार धेरैजसो हाललाई कोभिडकै निको गर्ने खालको उपचार नभए पनि विभिन्न हिसाबले यसलाई सहज गराउन सकिन्छ ।

आम सर्वसाधारणलाई ढाडस दिँदै डा. कोइराला भन्छन्, ‘यहाँहरू नआत्तिनुहोला । हतारमा अनावश्यक औषधी र अक्सिजनको जोहो गरेर थुपार्ने काम पनि नगरौं । स्वास्थ्यकर्मी र अस्पतालको सहयोग भएमा हामीले यहाँलाई सहयोग गर्न सक्छौ । आवश्यक परामर्श लिएर आफूलाई अप्ठ्यारो परिस्थितिबाट निकास पाउनु हुनेछ भन्ने आशा गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको