विप्लवको वर्षमानलाई कडा जवाफः इतिहासको चिहान खोतलेर रुने मान्छेहरूसँग के भन्ने ?
२० जेष्ठ, काठमाडौं । केहि दिन अगि नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ ले आजको दिनमा जनमत संग्रहको कुरा गरी यो व्यवस्था खारेजी कुरा गर्ने विप्लवको घाँटी पूर्व राजा ज्ञानेन्द्र शाहसँग जोडिएको हुनसक्ने टिप्पणी गरेका थिए । यही प्रसंगमा बुधबार हिमालय टेलिभिजनको यक्ष प्रश्नका कार्यक्रम प्रस्तोताले राजेन्द्र बानियाँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई जिज्ञासा राखेको थिए ।
प्रश्नको जवाफमा विप्लवले भने, ‘यस्तो आरोप सुन्दा मलाई हाँसो मात्र लाग्छ । त्यस्तो विश्लेषणको के जवाफ दिने ? हामी समाजवादको कुरा गर्दैछौं । हामी महान साम्यवादको विषयमा छलफल गर्दैछौं । त्यसलाई कसरी सफल गर्न सकिएला भनी अध्ययन, अनुसन्धान र बहस गरिरहेका छौं । इतिहासको चिहान खोतलेर रुने मान्छेहरूसँग के भन्ने ?’
कार्यक्रम प्रस्तोता बानियाँले तपाईंले जनमत संग्रह भन्नु र पूर्व राजा ज्ञानेन्द्र शाह वा उनका प्रतिनिधिहरूले पनि हिन्दु राज्य, संघियता या गणतन्त्रका विषयमा जनमत संग्रह गरौं भन्दै गर्दा तपाईँहरूका माग र मुद्दा मिलेको देख्दा घाँटी जोडिएको हो कि भनी आशंका त गर्न सकिन्छ नि भनी प्रतिप्रश्न गरेका थिए ।
विप्लवले जवाफमा भने, ‘त्यो कुनै सन्दर्भ नै छैन । हामीले जे कुरा प्रस्तुत गरिरहेका छौं । यो कुरा सबैले बुझिरहेको कुरा हो । यो कुरा नबुझ्ने मान्छे सायदै होला । यसलाई विषयान्तर गर्नुपर्ने र असान्दर्भिक रूपले सोच्नु पर्ने कुरा मनोआतंक, भयंकर ठूलो कुण्ठा, ग्लानी, छटपटाहटको अभिव्यक्ति हो । जनमत सङ्ग्रह विश्वभरी अपनाइएको एउटा लोकप्रिय विधि हो । यो उनीहरूले नबुझेकेको कुरा होइन । यो जनवादको उच्च अभ्यास हो । यो विषयलाई यसरी प्रस्तुत गर्ने कुरा कि त हदै अज्ञानता वा असक्षमता हो वा कि बेइमानी हो ।’