निषेधाज्ञा खुलेसँग रेल गुड्ने
२० जेष्ठ, काठमाडौं । नेपालमा कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल गुड्ने हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार रेल सञ्चालनका लागि सबै तयारी पूरा भएको बताएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पत्रकार सम्मेलनमार्फत् सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने बताएका छन् । उनले भने, ‘व्यवस्थापनदेखि रेलवे अध्यादेशसमेत ल्याइसकेका छौं, नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ । निषेधाज्ञाका कारण सञ्चालन गर्न पाइएको छैन ।’
सरकारले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडलाई एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा २६ मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म रेल चलाउने जिम्मा दिएको थियो। नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि आठ महिनाअघि ल्याइएको रेललाई पालले छोपेर राखिएको अवस्था छ ।
सरकारले अध्यादेश जारी गरी रेल सञ्चालनका लागि कानुनी बाध्यता फुकाउने व्यवस्था गरेपनि कोरोना महामारी बाधक बनेको छ । पटक–पटक समय तोक्दै आएता पनि रेल सञ्चालनका लागि जनशक्तिदेखि कानुन अभावलगायत कारण सञ्चालन हुन सकेको छैन् । रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिमा समस्या रहँदै आएको थियो ।
सरकारले गत वर्ष चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो । रेलमा बसेर र उभिएर गरी १ हजार २ सयदेखि १ हजार ३ सयसम्म जनाले यात्रा गर्नसक्ने क्षमता रहेको छ । नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन व्यवस्थासहित सरकारले १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल ल्याएको थियो ।