२० श्रावण २०७८, बुधबार

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्नेः केपी ओली



२० जेष्ठ, काठमाडौं । नेकपा एमालेका केपी ओली र झलनाथ खनाल–माधव नेपाल दुवै पक्षका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । ओलीले पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउन सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको छन् ।

पार्टी एकताका लागि ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू गहन छलफलमा जुटेका छन् ।

पूर्व सभामुख समेत रहेको नेता नेम्वाङले भने, ‘आफूहरू सहमति निर्माण गर्ने विषयमा हामी लागिरहेका छौं । आशा गरौं, पार्टी एकता बचाउन सकिन्छ ।’ नेपाल समूहका नेता पाण्डेले पनि पार्टी एकता जोगाउन र सहमति निर्माणका लागि प्रयास जारी भइरहेको बताए ।
एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू एकताका लागि भन्दै वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले भने त्यसलाई धोका र छलछामको संज्ञा दिएका छन् ।

एमालेका खनाल–नेपाल समूहको जनसंगठनका नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो व्यक्तिगत भेटघाट हुने र आधिकारिक हुन नसक्ने टिप्पणी गरेका छन् । भर्चुअल बैठकमा सहभागी जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको अव ओलीको भुलभुलैयामा नलागी पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन सुझाव दिएका छन् ।

बैठकमा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताको नाममा फेरि पनि ओलीले अलमल्याउने सम्भावना रहेकाले नेतृत्व थप सचेत हुन आवश्यक रहेको बताएका थिए । त्यस्तै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकताको नाममा धोका हुने भएकाले तत्काल पार्टी विभाजन गरेर नयाँ ढंगले अगि बढ्नुपर्ने सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु