२३ जेष्ठ २०८०, मंगलवार

काठमाडौं र भ्यागुताहरू



यो काठमाडौंको खाडल,
कुनै बेलाको सुन्दर पोखरी
मञ्जुश्रीले चोभार छेदन गरी
पानी बगाए देखि नै
सल्बलाउन थालेका भ्यागुताहरू,
सयौं, हजारौं हुँदै अहिले लाखौँको सङ्ख्यामा
तछाड मछाड गर्दै उफ्रिरहेछन् ।
यतादेखि उतासम्म, तलदेखि माथिसम्म,
जसको कहिलै धार्नी पुग्दैन,
जो जति उफ्रे पनि कुवा मुनि नै रहन्छन् ।
तैपनि निरन्तर उफ्रिरहेछन् भ्यागुताहरू ।
०००
ती मध्ये केही धूर्त भ्यागुताहरू
पालै पालो नाइके, भण्डारे र
पाले बन्ने अभिनय गर्छन् ।
बाँकी भ्यागुताहरू कुर्लन्छन्, उफ्रन्छन्,
तर फेरि हुन्छन् चुपचाप चुपचाप ।
०००
यहाँ भ्यागुताहरुले जति कोलाहल मच्चाए पनि,
कानमा कपास कोची बसिरहेछन् पशुपति पूर्वमा ।
पापी भ्यागुताहरूले जति पाप गरे पनि,
खुल्ला आँखा देख्या नदेखे झैँ गरी,
ठिङ्ग उभिरहेछन् स्वयम्भू पश्चिममा ।
काटमार गरून या लुटपाट,
बलात्कार गरून या हत्या,
दुई नम्बरी गरून या तीन नम्बरी,
सबै बाल दिँदै सर्पको बिछ्यौनामा
लमतन्न छन् बुढानिलकण्ठ उत्तरमा ।
कसैले भाइ मारोस या भारदार
जनता मारोस या जमिन्दार
आफ्नै अघिल्तिर धुमिल पानी जति बगे पनि,
गुमनाम छिन काली दक्षिणमा ।
र त, भ्यागुताहरू अझ रौसिएका छन्, जङ्गिएका छन्
अरूलाई चुस्न र लुट्न,
अनि तयार छन् बेचिन र बेच्न अस्मिता पनि ।
०००
यसरी नैतिकता र इमान्दारी
सबै पतन हुँदैछ भ्यागुताहरूको,
र, शायद पानी ओरालो बग्ने भएरै होला
पतित भ्यागुताहरूको अहम् स्वार्थसँगै,
राष्ट्रियता, स्वाधीनता र अखण्डता पनि
ओरालो लाग्दैछ विस्तारै विस्तारै…।
०००

डा. खड्का कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कार्यकारी निर्देशक हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको