१५ आश्विन २०८०, सोमबार

मंगल ग्रहमा चीन


योगेन्द्र शाही
१८ जेष्ठ २०७८, मंगलवार

यही मे १४ तारिखका दिन चीनले मंगल ग्रहमा तियानवेन १ यान र झुरोङ्ग रोभर पठाउन सफल भएको छ । तियानवेन मिसन अन्तर्गत २३ जुलाई २०२० पृथ्वीबाट मंगल अभियानका लागि चीनले रकेट प्रक्ष्येपण गरेको थियो । अन्तरिक्षबाट मंगल ग्रह पुग्न तियानवेन–१ लाई ७ महिना लागेको थियो । स्पेसबाट यो यान फेब्रुअरी १०, २०२१मा मंगल ग्रहका लागि प्रस्थान गरी करिव ३ महिना यसको अक्षमा घुमेर आवश्यक तथ्याङ्कहरू संकलन गरेको थियो । तियानवेन–१ बाट १४ मेमा यो यान मंगल ग्रहको अक्षबाट त्यसको सतहमा झर्नका लागि छुट्टिएको थियो । मंगल ग्रहको वायुमण्डल पातलो र जटिल भएकाले यसलाई एक सुरक्षित क्याप्सुलमा राखिएको थियो । यसलाई मंगल ग्रहमा झार्न प्यारासुट प्रयोग गरिएको थियो । यानमा जडान गरिएका थप रकेटहरू प्रयोग गरी यानलाई सन्तुलित तरिकाले मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गरिएको थियो । तीब्र गतिका कारण मंगल यान केही समयका लागि सम्पर्क विच्छेद हुन पुगेको भएता पनि सफल अवतरण भएको थियो ।

मंगल ग्रहमा रोवर सफलतापूर्वक उतार्ने चीन अमेरिका पछिको दोस्रो देश बन्न पुगेको छ । ६० को दशक देखि अमेरिका र सोभियत सङ्घ मङ्गल कक्ष नजिक पुग्न सकेका थिए । सन् १९७१ मा सोभियत संघले पनि मंगलमा यान झारेको थियो तर सफलतापूर्वक अवतरण हुन सकेन । १९७३ मा सोभियत संघ मंगल ग्रहमा आफ्नो यान सफ्ट ल्याण्डिङ गर्न सफल भयो तर केही सेकेण्डमै सम्पर्क विच्छेद भएको थियो । मंगलको अभियानमा सोभियत संघले १७ मिसनहरू पठाएको थियो । सोभियत संघ विघटन भएपश्चात स्रोत अभावका कारण यस्ता अभियानहरू बन्द भए । पुटिन कालिन रुसले मंगल ग्रहका लागि थप अभियान सञ्चालन गरे पनि यो पूर्ण सफल हुन सकेको छैन् ।

अमेरिकाले त हालसम्म २२ भन्दा बढी मंगल मिसन पठाएको छ । अमेरिकाले पनि मंगल अभियानमा यान उतार्न सन् १९७६ मा मात्र पूर्ण सफलता हात पारेको थियो । अमेरिका र सोभियत संघ मंगल कक्षसम्म जान सफल भएता पनि मंगल ग्रहमा यान उतार्न कयौं चुनौतीहरू भोग्नु परेको थियो । मङ्गल अभियानमा इयु, जापान, युएई, युकेले पनि रकेट पठाएको भएता पनि आंंशिक सफलतामात्र हात पारेका छन् । हालसम्म मङ्गलका लागि भएका आधाभन्दा बढी अभियानहरू सफल हुन सकेका छैनन् । कतिपय मिसनहरू कम्पुटर सिस्टम काम नगरेर त कतिपय यान ल्याण्ड गर्दा विष्फोट भएर सफल हुन नसकेको देखिन्छ ।

रकेटम्यान भनेर चिनिने अमेरिकी चर्चित धनाड्य उद्यमी इलोन मस्कको संसारकै शक्तिशाली रकेट निर्माता हुन् र उनी मंगल ग्रहमा बस्ति बसाउने योजना सार्वजनिक पनि गरिसकेका छन् । तर उनले भनेका छन् कि मंगल ग्रहमा मानिस पठाउन र बस्ति बसाउन थुप्रै मानिसहरूले ज्यान गुमाउनु पर्ने छ । मंगल ग्रहमा यान पठाउनुको चुनौती इलोन मस्कको यो भनाइबाट पनि प्रस्ट हुन्छ ।

हाल चीनले मंगल यान उतारेको स्थान उटोपिया प्लानेसिया हो । यो मंगल ग्रहको उत्तर भागमा रहेको मैदानी सुरक्षित भाग हो । चिनियाँ यानले कक्षमा ३ महिनाभन्दा बढीको अध्ययन पछि सहज अवतरण गर्न यो स्थान रोजिएको हो । हाल अमेरिकाको क्युरोयोसिटी र प्रिजभेन्स नामक दुइ रोभर मंगल ग्रहमा छन् र उनीहरूले मंगलग्रहका बारे चट्टान, हिऊ, पानी बहेको सतह आदिबारे निकै महत्वपूर्ण तस्विरहरू नासालाई पठाइरहेका छन् । सन् १९९७ पहिलो पाथफाइन्डर देखि अमेरिकाले ४ वटा यानहरू मंगल ग्रहमा सफलतापूर्वक पठाइसकेको छ ।

चीनले सन् २०१९ मा चन्द्रमाको फार साइटमा रोभर उतार्न सफल मात्र भएन चन्द्रमाको चट्टान र माटो पृथ्वीमा ल्याउन सफल भएको छ । अमेरिकी भू–सूचना पद्धति जिपिएससँग हारीहारी प्रतिस्पर्धा गर्ने गरी चीनले बाइडु नाभिगेसन सिस्टम अन्तरिक्षमा विकास गरिसकेको छ । ३५ सेटेलाइट सहितको यो पद्धतीले पृथ्वीको भू–तथ्याङ्क जिपिएसभन्दा पनि सुक्ष्म तहसम्म लिनसक्ने दावी गरिएको छ । त्यस्तै अन्तरिक्षमा चीन पनि अमेरिका झै स्पेस स्टेसन स्थापना गर्न लागि परेको छ ।

स्पेस प्रविधिमा चीन अमेरिका र रुसभन्दा निकै कान्छो भएता पनि पछिल्लो अवधिमा चीन अमेरिकालाई पछ्याउदै नजिकै पुगिरहेको छ । चीनले सन् २०१९ मा चन्द्रमाको फार साइटमा रोभर उतार्न सफल मात्र भएन चन्द्रमाको चट्टान र माटो पृथ्वीमा ल्याउन सफल भएको छ । अमेरिकी भू–सूचना पद्धति जिपिएससँग हारीहारी प्रतिस्पर्धा गर्ने गरी चीनले बाइडु नाभिगेसन सिस्टम अन्तरिक्षमा विकास गरिसकेको छ । ३५ सेटेलाइट सहितको यो पद्धतीले पृथ्वीको भू–तथ्याङ्क जिपिएसभन्दा पनि सुक्ष्म तहसम्म लिनसक्ने दावी गरिएको छ । त्यस्तै अन्तरिक्षमा चीन पनि अमेरिका झै स्पेस स्टेसन स्थापना गर्न लागि परेको छ । हिजो मात्रै चीनले अन्तरिक्ष स्टेशनका लागि सफलतापूर्वक रकेट प्रक्षेपण गरी रेकर्ड टाइममा अन्तरिक्ष स्टेसनसँग डकिङ्क गरेको छ । उता रुससँगको सहकार्यमा चन्द्रमामा अन्तरिक्ष वेस बनाउन चीनले सहकार्य गरिरहेको छ ।

हाल मंगल ग्रहमा उतारिएको चिनियाँ रोवर र अमेरिकी रोवरबारे बैज्ञानिकहरूले तुलनात्मक धारणाहरू सार्वजनिक गरेका छन् । अमेरिकाले मंगल ग्रहको यात्रामा लामो इतिहास कायम गरिसकेको छ । मंगल ग्रहमा अमेरिकी रोभर उतार्न सुरुका दिनमा चुनौतीहरू भोग्नु परेता पनि अमेरिकाले यसमा निपूर्णता हासिल गरेको छ । तर पहिलो पटक सफलतापूर्वक चिनियाँ मंगल अभियान, रोभर प्रविधि र यसको सक्षमताबारे पश्चिमा बैज्ञानिकहरू पनि प्रभावित भएका छन् । बैज्ञानिकहरू भन्दछन् कि मंगल ग्रहमा रोभर उतार्न चन्द्र ग्रहजस्तो सजिलो छैन ।

वैज्ञानिकहरू भन्दछन् कि अमेरिकी रोभर बहुउद्देश्यीय र जटिल छ । योसँग इन्जेन्युटी नामक साना हेलिकप्टरहरू पनि छन् । अमेरिकी रोभरसँग विविध उपकरणका साथै इन्धन तयार गर्न सक्ने रोबटिक रासायनिक ल्यावहरू पनि छन् । अमेरिकी रोभरका तुलनामा चिनियाँ रोभर सानो तर छरितो छ । यो अमेरिकी रोभरभन्दा प्राविधिक रुपमा सरल भिन्न तर उपयोगी छ । यो रोभरमा मूलत मंगल ग्रहको तस्विरहरू, चट्टान अध्ययन गर्न बहुउद्देश्यीय क्यामराहरू, चट्टान डिकेक्टरहरू, ग्राउण्ड पेनिट्रेटिङ राडार, हावापानी चेक जाँज गर्ने उपकरणहरू आदि प्रविधिले लैस छ । ९ महिनासम्म यसले मंगल ग्रहमा आफ्नो कार्य गर्नेछ । यो रोभर मंगल यानको बेसबाट २२ मेमा अलग भई मंगल सतहमा काम गर्न थालिसकेको छ ।

उनीहरूले मंगल ग्रहका लागि पठाएको यानको नाम तियानवेन–१ हो भने रोभरको नाम झुरोङ्ग हो । तियानवेन-१ अर्थ स्वर्गलोकका लागि प्रश्न भन्ने हुन्छ । चौथो शताब्दीका चिनियाँ कवि चु युयानको कविताको शिर्षकबाट यो नाम लिइएको छ । यसले प्राचिनकाल देखिनै विश्व ब्रह्माण्ड, प्रकृति र सत्यको खोजमा चिनियाँ भावनालाई प्रतिविम्बित गर्दछ । झुरोङ्गको अर्थ आगोको देवता हुन्छ । चिनियाँहरू मंगल ग्रहलाई आगोको देवता मान्दछन् । यसरी चिनियाँहरूले पृथ्वीबाट सानो आगोको देवतालाई ठूलो आगोको देवता कहाँ पठाएका छन् । यो मिसन सफल भइसकेपछि चिनियाँ राष्ट्रपति सि जिङ पिङले यो मिसन सफल बनाउन चुनौतीलाई सामना गर्ने साहस र हाँसिल गरेको निपूर्णताप्रति साथिहरूलाई बधाई दिँदै भनेका छन्– चीन र चिनियाँ जनताले यो सर्वोत्तम कार्यलाई सधै सम्झिरहने छन् । स्पेस प्रविधिमा यो अर्को महत्वपूर्ण कोशेढुङ्गा भएको र चीनले अन्तर–ग्रह अन्वेषणमा छलाङ मारेको बताउदै विकास र शान्तिको लागि प्रविधिको प्रयोग गरिने छ ।

आजको दिनमा स्पेस प्रविधिमा विश्व प्रतिस्पर्धी हुन पुगेको चीन भोली कतिपय क्षेत्रमा उछिन्न पुगेमा अचम्म मान्नु पर्ने छैन । चिनियाँ कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा चीनले प्रविधि विकासमा हाँसिल गरेका पछिल्ला सफलताहरु अतुलनीय छन् ।

आजको दिनमा स्पेस प्रविधिमा विश्व प्रतिस्पर्धी हुन पुगेको चीन भोली कतिपय क्षेत्रमा उछिन्न पुगेमा अचम्म मान्नु पर्ने छैन । चिनियाँ कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा चीनले प्रविधि विकासमा हाँसिल गरेका पछिल्ला सफलताहरु अतुलनीय छन् । प्रविधिको क्षेत्रमा चिनियाँहरू सिकारु मात्र होइनन् एक पछि अर्को निपूर्णता हाँसिल गरिरहेका छन् । प्रविधिलाई चीनले नयाँ अनुसन्धान र अन्वेषणतर्फ लगाउनुका साथै उत्पादक शक्तिको अग्रभागमा स्थापना गरी यो जादुगरी सफलता हात पारेको हो । आजका चिनियाँहरू चु युयानले चौथो शताब्दीमा कोरेका कविताका हरफहरुमा झैं आगोको देवता या झुरुङ्ग मार्फत् स्वर्गलोकमा यी प्रश्नहरूको जवाफ खोजिरहेका छन् (स्वर्गलोकलाई प्रश्न कविताबाट):

ग्रहहरूको दिशा कसले तय गर्छ ?
या कसले राशी चिन्ह छानेको होला ?
सुर्य र चन्द्रमालाई त्यति माथि कसरी राखिएको होला ?
अरु ग्रह र तारा पुञ्ज नजिकै राम्ररी कसले मिलाएको होला ?
हरेक पटक सूर्य पूर्वमा उदाउँछ
र पश्चिमा यसले आफ्नो यात्रा पुरा गर्दछ ।
गोधुली हुँदै अनि अँध्यारो हुन्छ ।
कस्ले सक्ला सूर्यको बाटो नाप्न ?
कसैले भन त चन्द्रमामा के त्यस्तो गुण छ
जसका कारण यो सानो सानो हुँदै जान्छ र फेरी तुरुन्तै ठूलो ठूलो हुन्छ ।

लेखक शाही कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् ।




प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको