१९ फाल्गुन २०७७, बुधबार

चीन र भारतबीच फेरी सैन्य तनाव : स्थिति अनियन्त्रित हुन नदिन दुबै देशको वक्तव्य



१६ भाद्र, काठमाडौं । लद्दाख क्षेत्रको चुसुल भ्यालीको पाङ गोङ ताल क्षेत्रमा चिनिया र भारतीय सैनिकबीच अगस्ट ३० मा फेरी तनाव भएको छ । गत अप्रिल देखि नै दुबैतर्फका सेनाबीच ४ पटक धकलपकल र भिडन्तको अवस्था भएको थियो । यसपटकको भौतिक मुठभेटमा दुबै पक्षमा क्षति भएको समाचार भने बाहिर आएको छैन ।

चिनियाँ पश्चिमी कमाण्डका अनुसार पानगोङ तालको दक्षिणी क्षेत्रमा भारतीय सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल पार गरेर आफ्नो तर्फ आइ स्थितिलाई तनावयुक्त बनाएको बताएको छ । उता भारतीय पक्षले भने चिनियाँ सेनाले तालको एउटा ढिस्को माथि आफ्नो उपस्थिति जनाइ यथास्थितिलाई परिवर्तन गर्न खोजेको र आफ्नो प्रतिरोधका कारण पछि हटेको जनाएको छ ।

भारत स्थित चिनिया दुतावासले नियन्त्रित रेखा पार गर्ने सीमा क्षेत्रमा रहेका भारतीय सैनिकलाई भारत सरकारले अविलम्ब फिर्ता गर्नु पर्ने बताएको छ । स्थितिलाई काबुमा राख्न दुबै पक्षका सैन्य कमाण्डरहरुले भारतीय सिमा क्षेत्रको चुसुलमा ४ घण्टा लामो वार्ता गरेका छन् । वार्ता आज पनि जारी छ ।

सन् १९६२ मा चीन र भारत बीच भएको सीमा युद्धपश्चात् दुबै देशको विवादित सीमा क्षेत्रमा स्थायी सीमा निर्धारण हुन सकेको छैन । अक्साइ चीन क्षेत्रमा भारतको दावी छ भने अरुणाचल क्षेत्रमा चीनको दावी रहेको छ । नियन्त्रित सीमा रेखामा पनि दुबै पक्षको दोहोरो दावी हुने गरेको छ ।
गत जुनमा ग्वालन घाँटीमा भएको झडपमा भारतीय २० सैनिक जवानको ज्यान गएको थियो भने चीनले आफुतर्फ भएको क्षेतिको खुलासा गरेको छैन ।

चिनियाँ विदेशमन्त्री वाङ यिले दुबै पक्ष शान्त रहनु पर्ने र स्थितिलाई काबुमा राख्न वार्ता गर्नुपर्ने बताएका छन् । चीनले आफ्नो तर्फबाट स्थितिलाइ जटिल बनाउने कुनै कदम नचाल्ने तर सिमा र सार्वभौमसत्ता जोगाउन भने बाध्य हुने उनले बताएका छन् । उनले भने, ‘चीन र भारतबीच सीमा निर्धारण हुन नसक्दा यस्ता समस्या बीचबीचमा आइरहने भएकाले वार्ताबाट मात्रै यस्ता समस्याहरु समाधान गर्दै जानुपर्छ ।’ युरोप भ्रमणको दौरानमा फ्रान्समा रहेको बेला उनको यस्तो धारणा आएको हो ।

यता भारतिय विदेशमन्त्री जयशंकर शुब्रामन्हिमले चीन र भारत कुनै न कुनै सहमति र सन्तुलनमा जानैपर्ने बताएका छन् । चीन र भारतका विज्ञहरूका अनुसार कुटनैतिक र उच्च तहमा महिनौ लगाएर सकारात्मक वातावरण बनेपनि सिमामा दुबै देशले गरेको उच्च सैनिक परिचालनबाट वातावरण अचानक बिग्रिन पुगेको छ ।

यो ताल क्षेत्रमा चिनियाँ पक्ष इन्डेक्स ४ सम्म आफ्नो नियन्त्रित क्षेत्र ठान्छ भने भारतले इन्डेक्स ८ सम्मलाई आफ्नो नियन्त्रित क्षेत्र ठान्छ । यो बीचमा उनीहरुको निगरानी चलिरहन्छ र झगडा पनि भइरहन्छ । ठूला दुइ देशलाई आफ्नो सानो टुक्रा जमिन पनि छाड्ने मन छैन । त्यसमाथि एकले माथि हस्तक्षेप गरेको ठान्ने परिस्थिति बन्न पुग्छ । तर यस्तो परिस्थितिले भयाभह स्थिति ल्याइदिन सक्छ । हुन त चीन र भारत बीच ४ हजार किमी भन्दा लामाे क्षेत्रमा सीमा तय हुन सकेको छैन । सन् १९६२ काे भिषण युद्ध पछि विगत ४० वर्षमा भने भारत चीन दुवै देश बीच सैन्य तनाव भएको थिएन ।

पछिल्लो अबधिमा भारतले सिमा क्षेत्रमा सडक पूर्वाधारहरु तीब्र गतिमा निर्माण गरिरहेको छ । त्यसमाथि भारत र पाकिस्तान बीच उकुच परेको कास्मिर विवाद सेलाइ नसकेको अवस्थामा चीन र पाकिस्तान आर्थिक करिडोर यही क्षेत्रबाट जाने भएकाले पनि यो क्षेत्रको सिमा विवाद दुबै देशका लागि पेचिलो रणनीतिक विषय बन्न पुगेको हो । नयाँ विश्व भूराजनीतिले आपसी अविश्वास सिर्जना हुन पुग्दा दुवै देशले सिमानामा सैन्य तैनाथी र उपकरणहरु बढाउँदै लगेका छन् । यो पटक फेरी ग्वालन घाँटीको जस्तै अर्काे दुर्घटना या अझ अकल्पनिय युद्ध नहोस् भन्नेमा भारत र चीन दुबै पक्ष सचेत हुन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु