अर्थशास्त्री डा. गोविन्द थापाको कोरोनाबाट निधन
१८ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमित भएका डा. थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो ।
डा. थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनी तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार र नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक समेत हुन् ।
थापाले सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला एशियाली विकास बैंकमा काम गर्ने अवसर पनि पाएका थिए । एमालेको अर्थ योजना, अनुसन्धान विभागको प्रमुखमा पाण्डे र सचिवमा डा. थापा रहेका थिए ।
पूर्व अर्थमन्त्री पाण्डेले दिवङ्गत थापाको शवमाथि झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । पाण्डेले उहाँ एउटा देशभक्त र पार्टीको बफादार कार्यकर्तासमेत भएको बताए । पोखरामा जन्मिएका थापाको परिवारमा उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।