जग्गा खरीद गर्न नसकेको सुर्खेत मेडिकल कलेजः सधै बजेटमा मात्र सिमित
१७ जेष्ठ, सुर्खेत । सुर्खेतमा मेडिकल कलेजका लागि भनेर आर्थिक वर्ष २०७२/२०७३ सालबाट नियमित बजेट भाषणमा आउने गरेता पनि अहिलेसम्म पनि जग्गा व्यवस्थापन गर्न सकेको छैन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि अर्थमन्त्री विष्णु पौडेलले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भनी बजेट भाषण गरेका छन् ।
मेडिकल कलेज बनाउनका २०७६ सालको जेष्ठमा सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको थियो । २ वर्षदिन वितिसक्दा पनि मेडिकल कलेज स्थापनाको कुनै प्रक्रिया अघि बढेको छैन् । गत आर्थिक वर्षमा मेडिकल कलेज स्थापना गर्नका लागि संघीय सरकारले १० करोड रकम विजियोजन गरेको थियो । चालु आर्थिक वर्षमा बजेट विनियोजन कार्यान्वयनमा आउन सकेन ।
सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्न तयारी थालेको आयोजनाका प्रमुख जीतबहादुर शाहले जानकारी दिएका छन् । उनले भने, ‘वीरेन्द्रनगरको वडा नं. ११, १२ र १३ का ६ वटा सामुदायिक वन क्षेत्रको अध्ययन भइरहेको छ । शिक्षण प्रयोजनका लागि प्रदेश अस्पताल कालागाउँ र आवासीय, प्रशासनिक तथा अन्य प्राज्ञिक प्रयोजनका लागि गागे्रताल वन क्षेत्रमा भवनहरू बनाइने योजना रहेको छ ।’
दिनानाथ शर्मा शिक्षा मन्त्री भएको बेला मेडिकल कलेज स्थापनाका लागि एक कार्यदल बनाई दुई महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । त्यस्तै जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयलमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न निर्देशन दिएको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ ।