८ माघ २०७८, शनिबार

सुदूरपश्चिम प्रदेशका ६ जना एमाले मन्त्रीलाई निष्काशन गर्न प्रदेश कमिटीको सिफारिस



१७ जेठ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्री र संसदीय दलका सचेतकलाई कारवाहीका लागि सिफारिस गरेको छ । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै प्रदेश कमिटीले कारवाहीको सिफारिस गरेको हो ।

प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले प्रदेश कमिटिले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरेको हो ।

प्रदेश कमिटीले यसअघि प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई साधारण सदस्य नरहने गरी निष्कासन गर्न सिफारिस गरेको थियो ।

शुक्रबार नियुक्त भएका मन्त्रीले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका थिएनन् भने शाह, भट्ट र सुवेदीले स्पष्टीकरण दिए पनि चित्त बुझ्दो नरहेको भन्दै कारवाहीका लागि सिफारिस गरिएको जानकारी प्राप्त भएको छ । सुदूरपश्चिममा नेकपा (एमाले) ले प्रदेश सभाका १० जना प्रदेश सभा सदस्यमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

यस अघि गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेता पनि बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

गत शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाई ७ जना मन्त्री थपेको थियो । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५ जना प्रदेश सभा सदस्य रहेकामा माधव नेपाल समूहका १८ र ओली समूहका ६ जना छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको