कोरोनाबाट त्रिविका दुई सहप्राध्यापकसहित २३ कर्मचारीको मृत्यु
१६ जेष्ठ, काठमाडौं । दोस्रो चरणमा थप भयावह बनेको कोरोना भाइरस संक्रमणबाट त्रिभुवन विश्वविद्यालयका २ जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ ।
विश्वविद्यालयले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन् । यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको मृत्यु भएको बताइएको छ ।
विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत प्राध्यापक, शिक्षक र कर्मचारीहरूको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
आगामी दिनमा कोरोना सङ्क्रमितको प्रभावकारी उपचारमा विश्वविद्यालयका अस्पतालबाट हुन सक्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको त्रिविले जनाएको छ ।