१५ मंसिर २०७८, बुधबार

“औसत आयु”



मेरो औसत आयु कति होला ?
के औसत आयु पनि हुन्छ र ?
हुन्छ भने
एउटा निश्चित उमेरमा मात्र
किन मर्दैन मान्छे ?
बाल अवस्था होस्
जवानी होस् या
बृद्ध अवस्था
मृत्युको कानुन एउटै देखियो
सबै मानिसलाई
मृत्युको भय उस्तै देखियो
मान्छेले राखेको
औसत आयु बाँच्नेहरुलाई पनि
बाँच्ने रहर पुगेको देखिएन
ल भन्नुस् महोदय !
तपाईको औसत आयु कति हो ?
हो
म मर्ने छु
यसको प्रमाण यही हो कि
अहिले म कविता लेखिरहेछु
तपाई पनि
मृत्युको लाइनमै हुनुहुन्छ
यसको प्रमाण पनि यही हो कि
यतिबेला तपाई
कविता पढ्दै हुनुहुन्छ
घाटमा
अन्तिम बिदाइको
लाइनमा बसेका जम्मै लासहरु
मेरो आउँदै गरेको
मृत्युका प्रमाणहरू हुन्
कृपया !
म मरेपछि
मलाई अल्पायु दीर्घायु
या
कुनै पनि आयुको
प्रमाणपत्र नभिराइयोस्
जुन समयमा मेरो मृत्यु हुनेछ
त्यो नै मेरो
अन्तिम औसत आयु हुनेछ ।।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको