कर्णालीलाई यस वर्षको बजेटले कसरी सेमेट्यो ?
१५ जेष्ठ, सुर्खेत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा कर्णालीका प्रायः पुराना योजना तथा केही नयाँ आयोजनामा बजेट व्यवस्था गरिएको छ । पौडेलले कर्णालीमा सञ्चालनमा रहेका पुराना आयोजनामा स्तरोन्नति लगायतका काम गर्ने गरी बजेट विनियोजन गरेका छन् ।
सरकारले प्रस्तुत गरेको बेजेटमा बबइ–छिन्चु, सुर्खेत (कटुका)–दैलेख (सियाकोट) सडकको सुरुङ मार्ग अध्ययन गर्ने बताइएको छ। कर्णाली प्रदेश सरकारले पनि यी दुई ठाउँमा आर्थिक वर्ष २०७६/०७७ मा ल्याएको प्रदेश बजेट भाषणमा उल्लेख गरे तापनि कार्यान्वयन गर्न सकेको थिएन ।
राष्ट्रिय गौरवको आयोनाका रूपमा रहेको भेरी बबइ ड्राइभर्सन आयोजना आगामी दुई वर्षमा सम्पन्न गर्नका लागि थप ३ अर्ब रुपैयाँ बजेटको विनियोजन गरिएको छ ।
जुम्ला जिल्लामा स्याऊ रोप्ने किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने कुरा बजेटमा ल्याइएको छ । त्यस्तै डोल्पाको दुनै बजार नदी कटान नियन्त्रण गर्न बजेट विनियोजन गर्नका लागि सरकारको प्राथमिकतामा रहेको छ।
बजेट भाषणका क्रममा रारा ताल, से–फुकोण्डो ताल, हुम्लाको लिमीको पर्यटन मार्ग निर्माण गरिने, मुगुको छायाँनाथ र सुर्खेतको काँक्रेबिहार क्षेत्र विस्तृत पर्यटन गुरुयोजना तयार गरिने अर्थमन्त्री पौडेलले बताए ।
कर्णालीमा ऊन उत्पादन उद्योग, हुम्लाको यारीमा सुख्खा बन्दरगाह निर्माण गरी कर्णालीमा चामल र नुन ढुवानीका लागि ७६ करोड अनुदान दिने भनी बजेटले सम्बोधन गरेको छ ।
कर्णालीको राजधानी सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्ती, बीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण, जुम्लामा हाइअल्च्यिुट रंगशाला पनि बजेट विनियोजन गरिएको छ।
सडकतर्फ भेडाबारी–धुलियाबिट–सुर्खेत सडकखण्डको निर्माण, कोहलपुर–सुर्खेत राजमार्गका दुई लेनको बनाउने, सुर्खेतदेखि कालीकोटको खुलालुसम्म दुई लेन सडक निर्माण, हुम्लाको सदरमुकाममा आगामी वर्षमा सडक पुर्याउने लक्ष्य, भेरी करिडोर स्तरोन्नती, नाग्म–गमगढी सडकको स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ ।
बबइ–छिन्चु, सुर्खेत–दैलेख सडकको सुरुङ मार्ग अध्यायन गर्ने बजेटमा उल्लेख गरिएको छ । फुकोट कर्णालीको आयोजना अगाडि बढाइने र वेतन कर्णालीका लगानी तयारी गर्ने आवश्यक बजेटको व्यवस्था गरिएको छ ।