२० जेष्ठ २०८०, शनिबार

भाका पनि गीत भैगयो–नौली हदेलीको


केशरसिंह माझी
१६ भाद्र २०७७, मंगलवार

प्रत्येक ठाउँ, समाज आ–आफ्नै संस्कार, संस्कृति, परम्परा, भेषभुषा, लवाइ, खवाइ, रहन, सहन, बोली भाषा आदि जस्ता सामाजिक, सांस्कृतिक परिवेशमा आवद्ध हुन्छ । प्रत्येक मानिसको जन्म आफ्नै रुवाईबाट सुरु हुन्छ र अरुलाई रुवाउँदै अन्त्य हुन्छ । जन्मपछिका बाल्यकाल, शैसवकाल, किशोरावस्था र युवावस्थामा देखिने जोश जाँगरहरू उमेर अवस्थाको ओह्रालोसँगै शिथिल हुँदै रोगी, व्याधी, जीर्ण एवम् आफैलाई बोझिलो झैं लाग्ने शरीर वृद्धावस्था हुँदेै अनन्त यात्रामा पुग्नै पर्ने बाध्यता एवम् विवशता थाह पाउँदा पाउँदै पनि सुखमा रमाउने, दुःखमा चिन्तित हुने प्रकृति एवम् प्रवृतिको अकाट्य परिवेश मानव जीवनको अभिन्न अङ्ग बनेको हुन्छ । श्रृष्टिमा अनेकौं प्राणीको शरीर जन्म हुन्छ, तथापि सबै प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी मानव नै हो, जो एक अर्काको बोली, भाषा, इशारा, सङ्केत जस्ता दोहोरो तेहरो सम्वाद बोल्ने, सुन्ने, बुझ्ने, अनुशरण एवम् अनुकरण गर्न सक्ने हुन्छ र यही कारणले पारिवारिक वातावरण, संस्कृति र संस्कारसँगै हुर्कदै बढ्दै आफ्नै सामाजिक एवम् सांस्कृतिक परिवेशको मात्र अध्ययन पर्याप्त हुँदैन, सिङ्गै संसारका विविध पक्षको अध्ययन गर्ने रुचि जागृत हुन्छ केवल चेतना शिक्षाको माध्यमले, बोलीचालीकै माध्यमले । यसैले मानव जीवन सर्वोत्तम मानिएको हुन्छ । अपितु हरेक समाजका हरेक मानिस सवै जस्तै र चेतनशील, शिक्षित एवम् दीक्षित बन्न सकिरहेका हुँदैनन् । अपवादका रूपमा भनौं वा सामाजिक वाध्यता । यो परिवेशमा पनि हाम्रै नेपाली समाज गुज्रीरहेको छ । खानेका खाने दिन, लाउनेका लाउने दिन, हेर्नेका हेर्ने दिन, रुनेका रुने दिन तपाईं हामी सवैले देखे, भोगेका र अनुभव गरिरहेका पनि छौं । यी र यस्ता यावत पृष्ठभूमिमा पनि मानिस चाहे शिक्षित होस् वा अशिक्षित उसलाई आफनै हुर्केको समाज, संस्कृति र परिवेश अन्य देश दुनियाँमा जस्तोसुकै भए तापनि राम्रो लाग्छ । यसैले जन्मभूमि मातृभूमिको माया अपरम्पार हुन्छ, जो कहिल्यै र कदापि पनि मेटिँदैन ।

आधुनिक सभ्य समाजकै परिदृश्यमा मानव जातिको कलङ्क जस्तो अनौठो मानिने जङ्गली मानव राउटे हामीले हाम्रो वरिपरि देख्दा हामी अनौठौं आश्चर्यको परिकल्पना गरिरहेका हुन्छौ । हामी उसलाई सरसर्ती हेर्दा मानव जाति नै होइन कि भनेजस्तो गर्दछौ र अनौठो पात्रको रूपमा चित्रण गर्दछौं । राउटे समाज हामीले हेर्दा फाटैका चिथरा लुगाले लाज छोपी रहे पनि हाम्रो लागि सर्वाङ्ग नाङ्गो सरह हुन्छ । हामी उसलाई हियाइ रहेका हुन्छौ, साना लाला–बालालाई राउटे तर्साउने भुतको उपमाको स्वरूपमा चिनाइरहेका हुन्छौ । तर तपाईं हामीलाई कत्ति पनि थाह र अनुभव के छैन भने उसको समाजले पनि हामीलाई हाम्रै दृष्टिकोण सरह हेरिरहेको हुन्छ भनेर । किनभने जस्तोसुकै खाए लाए पनि, जे जसरी जीन्दगी गुजारा गरे पनि उसको समाजलाई तपाईं हामीलै जतिसुकै बाचा बचन र प्रलोभन देखाए पनि त्यसमा उसको पटक्कै रुची हुँदैन, उसको समाजको लागि आफ्नै मेहनतले खेतिपाती गरी खानु, घर बनाएर राम्ररी बस्नु, राम्रो लाउने र मिठो खाने तर्फ कत्तिपनि रुचि हुँदैन । बन जङ्गल चहार्नु, गिठा भ्याकुर जस्ता कन्दमूल देखि आफनै पौरखले बनाएका कोशी, मुधुस, खाट र बाकसजस्ता काठका सर सामग्रीहरू अनाजसँग साटेर, बेचेर गुना, बाँदरको शिकार गरेर खानु त्यो जातिको आफनो संस्कार, संस्कृति र परम्परा हो । ऊ त्यसैमा मात्र रमाइरहेको हुन्छ । यसैले त्यो राउटे समाजले आधुनिक सभ्य समाजलाई यसरी गीतबाट मूल्याङ्कन गरिरहेको हुन्छः

धर्ति राम्रो तोरी फूल आकाश राम्रो जुन ।
मान्छे राम्डो मन् मिल्याको तिहुन राम्रो नुन ।।

राउटे समाजमा पनि मनोरञ्जनका रूपमा मादल, खैंजडी, घुंघुरु जस्ता बाजाहरूको तालमा गरिने नाचगान र देउडा संस्कृतिलाई पनि प्रधानता दिइएको हुन्छ । उनीहरू तपाईं हामीसँग कुराकानी गर्दा अनेकौ उखान, आख्यान र देउडा गीतको प्रयोग गर्दछनः

तमी हौ कोटका राजा हामी हौं बोटका ।
सितिमिति भली नाइनन् घा मर्म चोटका ।।

दैलेख जिल्लाको दुल्लु, आठबिसदरा, अछाम, कालीकोट, जुम्ला, मुगु, डोटी, बैतडी, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर, जाजरकोट, सुर्खेतलगायतका जिल्लाहरूमा परम्परागत रूपमा लाग्ने मेला, पर्व, जात्राहरू मध्ये दैलेखको डाँडीमाडी महामेला, भैरवी, शिवरात्रीमा श्रीस्थान, माघे सङ्क्रान्तिमा पादुका र राकम कर्णाली, भगवतीमाइको घोडादाउनी मेला, दैलेख बजारमा कृष्ण जन्माष्टमी जात्रा, सिंगौडीमा भुओ जात्रा, तिलेपाटाको गाइजात्रा र भैनी, तियाडी, रावतकोट र खरिगैरामा मष्टा देवता पूजा मेला, मालिका मेला बिनायक, अछाममा तितौरा माइको मेला, तुर्माकाँध, धमालीको कृष्ण जात्रा, बिनायकको मष्टामाडु, बारालाको सिमलसेरा, गैरिटाँड मेला जात्रा, जुम्ला खलङ्गाको कृष्ण जन्माष्टमी जात्रा, देपागाउँको दानसाँगु मेला, सिन्जा दराका मष्टादेवताका पैठ, पूजा, मेलाहरू, कालिकोट रास्कोट र लालुलोखडा, पलाँता दराका मष्टा देवताका पैठ, पुजाहरू आदिमा केटाकेटी, टोकाटोकी, फल्यौटाफल्यौटी, छोट्टे छोट्टी, तन्नेरी तरुनी बीच मायाप्रिती दुःख सुखमा भेटघाट हुँदा होस् वा एक्लै विरह बेदनामा गाइने देउडा गीतमा अगाडि वा पछाडी प्रयोग गरिने थेगो, भाका वा शैली जस्तै हो “नौली हदेली ।”

यी त भए हाम्रो समाज वरीपरीको अन्य समाजको छोटो चर्चा मात्र । प्रस्तुत आलेखको शिर्षकले नै दैलेख जिल्लाको दुल्लु, आठबिसदरा, अछाम, कालीकोट, जुम्ला, मुगु, डोटी, बैतडी, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर, जाजरकोट, सुर्खेतलगायतका जिल्लाहरूमा परम्परागत रूपमा लाग्ने मेला, पर्व, जात्राहरू मध्ये दैलेखको डाँडीमाडी महामेला, भैरवी, शिवरात्रीमा श्रीस्थान, माघे सङ्क्रान्तिमा पादुका र राकम कर्णाली, भगवतीमाइको घोडादाउनी मेला, दैलेख बजारमा कृष्ण जन्माष्टमी जात्रा, सिंगौडीमा भुओ जात्रा, तिलेपाटाको गाइजात्रा र भैनी, तियाडी, रावतकोट र खरिगैरामा मष्टा देवता पूजा मेला, मालिका मेला बिनायक, अछाममा तितौरा माइको मेला, तुर्माकाँध, धमालीको कृष्ण जात्रा, बिनायकको मष्टामाडु, बारालाको सिमलसेरा, गैरिटाँड मेला जात्रा, जुम्ला खलङ्गाको कृष्ण जन्माष्टमी जात्रा, देपागाउँको दानसाँगु मेला, सिन्जा दराका मष्टादेवताका पैठ, पूजा, मेलाहरू, कालिकोट रास्कोट र लालुलोखडा, पलाँता दराका मष्टा देवताका पैठ, पुजाहरू आदिमा केटाकेटी, टोकाटोकी, फल्यौटाफल्यौटी, छोट्टे छोट्टी, तन्नेरी तरुनी बीच मायाप्रिती दुःख सुखमा भेटघाट हुँदा होस् वा एक्लै विरह बेदनामा गाइने देउडा गीतमा अगाडि वा पछाडी प्रयोग गरिने थेगो, भाका वा शैली जस्तै हो “नौली हदेली ।” देउडा गीतलाई भाका र लयमा मिलाई गाउँदा मिठास वा मनोरञ्जक बनाइदिन्छ नौली हदेली र बीचमा साइअ र भिनाज्यू शब्दका प्रत्यय प्रयोगले । यसैले यो एक भाका हो, सुर हो र ताल पनि हो, जुन बाद्यवादनको प्रयोग गरेर वा नगरेर एक्लै वा समूहगत रूपमा गाउने गरिन्छ । जस्तोः

ए ……. “नौली हदेली” पानी माग्या दुध मिल्लो छ “भिनाज्यू” धन्य दुल्लु देश,
ए……. “नौली हदेली” लालरङ्गी सुन्तला फली “भिनाज्यू” पुग्दो छ मधेश ।।
रेल बाइगो बरेली साइअ आगो पानी धुँवा छोड्डै “नौली हदेली,”
नबजाउ मुरली साइअ परदेश मेरो कोइ नाई “नौली हदेली” ।।
ए…… “नौली हदेली” बाघ् पिड्या बर्षदिन् भैगो “भिनाज्यू” गोरु तर्सनाइछन् ।
“नौली हदेली” सौरडी लाग्याकी बेला “भिनाज्यू” आसु बर्सनाइछन ।।

देउडा गितका भाकाहरू कहिल्यै नसुनेका मानिसहरूका लागि रुवाई वा रोदन हो कि भन्ने भान हुन्छ होला । विस्तारै सब बुझ्दै जाँदा त्यसमा मनोरञ्जन मात्र होइन मायाप्रीति, विरह, वेदना लगायत हास्य, बीर, करुणा, रौद्र जस्ता नवरसहरूको प्रयोगबाट समाजका सबै पक्षहरूको संश्लेषण, विश्लेषण, व्यङ्ग्य, कटाक्ष, आँसु, हाँसोको मिश्रण पाइन्छ । देउडा गायकहरू प्रायः जसो आँसुकवि हुन्छन् । जो तत्कालै निमेष भरमा गीतको रचना छन्दात्मक लयमा तयार गर्दछन् र भाकामा प्रयोग गरी हाल्दछन ।

त्यसमध्ये पङ्क्तिकारका जानकारीमा आएका खेलाउडाहरूको परिचय देउडा गीतबाटैः

सात्तला विशाखर देखि भाटगाउँकी ऐसेनी ।
जन्ले जित्यो उइले लियो उई मैरी बैसेनी ।।
रास्कोट अनिपाल शाही कि बदालकोट धन साइ ।
साँवाको जहर सिं ढोली मुगुको घन्टे दाई ।।
राकमका नैन माझी, छेपाडी बालासिंग ।
छबिसकी खेलाउडी हिमा सबलाई खैलाउनी पिंग ।।
भैसोले थर्काउना थिया आमी करे धामी ।
सवाल उठ्यो जवाफ छुट्यो नाडी छामी छामी ।।
रास्कोटे नेत्रराज साइलाई खेलाउडो गन्ना छन् ।
अछामकी बिमला बुढा खेलाउडी भन्ना छन् ।।
नाउँ र ठाउँ मेला होउ जात्रा राम चुइरिना छन् ।
रौस्याहा रहडी जति हेर्न घुइरिना छन् ।।

सामान्य परिचय र प्रवृतिका यी पङ्क्तिहरूबाट गाउँ, ठाउँ, नाउँ समेतको सामान्य झल्को दिने प्रयास मात्र प्रस्तुत आलेखमा जमर्को गरिएको हो । देउडा संस्कृतिका गर्भमा यस्ता आँसु कविहरू टौलेपिच्छे, गाउँपिच्छे अनेक र एक से एक हुन्छन्, जसलाई यस सानो अनुच्छेदमा मात्र समेटन सकिदैन ।

देउडा गीतहरूमा भाका, लय, सुर, ताल ठाउँ र आवश्यकता अनुसार फरक फरक हुन सक्दछन तथापि सबै देउडा गीतहरू छन्द प्रधान हुन्छन् । त्यस्ता गीतहरूमा सवाल अनुसारको जवाफ देउडा खेलमा खेलेर बसेर कानमा औंला हाल्दै गाएर, उभिदै गाएर, रनबनमा एक्लै आफ्नै ताल भाकामा गाउने लय र भाकाहरू फरक एवम् परिस्थितिजन्य हुन्छन ।

मनमा दुःख र बैराग लागेमा, भारत वा अन्य देशको प्रवासमा बस्दा होस वा साथीभाइलाई चिठी लेख्दा समेत मनका बेदनाहरू यसरी पोख्ने गरिन्छः

अब त हिउनमास लाग्यो बाल पालीहाल जया ।
म लाग्याँ पर्देशको बाटो निको मान्नाई रह्या ।।
सेठ्यानी साइकल घुम्दी बम्बै कुलाबाग ।
पर्देशी हुँ पर्देशै छु पर्देश मेरा भाग ।।
नेपाल हनुमान् ढोका तस्वीर टाँसेकै छन् ।
सुख सुखै छन् दुःख दुखै छन् दन्त हाँसेकै छन् ।।
भाग्यमानी शहर पस्या गाडी घुइँक्याउना छन् ।
अभागी पहाड जन्म्या भारी चुइक्याउना छन् ।।

त्यसैगरी माया प्रीति गर्दागर्दै परदेश जाँदा परदेशबाटै चिठीबाट केटाले केटीलाई गीति पत्र लैखी पठाउने र जवाफ पनि गीति पत्रबाटै पठाउने गरिन्छः

केटाः लेख काफल पाक्या हुनन बनै लटरम्म ।
तँ नपग्लेइ हिउँ शंकर म नआउन्ती सम्म ।।
केटीः गाई दुने साउनको छोरो भैंसली दुनैन ।
एकै सूर्य घाम ताप्ता छौं भेट किन हुनैन ।।
केटाः बर्खा पानी मूलधाराको हिउनमास कुवाको ।
रात दिनै सौंराई लाउनो मेरी राइ सुवाको ।।
केटीः औल धारा छड्कना पानी पी जान्या हो ।
पर्देशीको क्या भरोसा दर्शन दी जान्या हो ।।
केटाः आकाश परेवा पनि चील पनि उड्डाछन् ।
जतन गरेई राइसुवाले कोइ त्यसै चुड्डाछन् ।।
केटीः म चीलको फ्यास् मान्ने छैन साई मेरा बाजै हौ ।
रङ्गीचङ्गी दुनियाँमा साई मेरा त राजै हौ ।।

यसैगरी स्थान विशेषको वर्णन वा परिचय, पर्यटन विकास गर्भ मै रहँदाको पींडा, बस्ती उजाड भएको पीडा जस्ता कुराहरू पनि देउडा गीतबाटै पोख्ने गरिन्छः

बनेको बनाउनु केइनाइ दैलेखको गडी ।
पानीमा जुवाला बल्ला हेर मैनाचडी ।।
दुल्लु राम्रा पञ्च देउल सात र कीर्तिखम्ब ।
इतिहास बोकेर पनि गर्भ मै हालसम्म ।।
कर्णाली, भेरी र सेती बग्दै गैरहेछ ।
खानु छैन बाल्नु छैन खड गैरहेछ ।।
घर लियो गाउँ बस्ती लियो कर्णाली उर्लेर ।
सरकारबाट केइ पाउनाइनन क्या अरुन कुर्लेर ।।
उपल्लो कर्णाली भनी किन छुट्याउन्या छौं ।
विकास् सिकास् गन्र्या होइनौ बस्ती उडाउन्या हौं ।।
एकतिर उजाड्यो बस्ती कर्णालीले काटी ।
तटबन्ध बनाउला भन्ना त्यउनै पड्डो टाटी ।।

समसामयिक विषय राजनीतिक, अराजनीतिक वा गैर राजनीतिक, सामाजिक वा असामाजिक जस्ता जुनसुकै तह तप्का वा समुदायहरूका क्रियाकलाप पनि देउडा कै सेरोफेरोमा समेटिएको हुन्छ । जस्तैः

काइठोपाखन् बगाई ल्याउनौ साउनका भेलमा ।
कि हुन्छ चुनावमा हारजीत् कि हुन्छ खेलमा ।।
खेत फुट्या दराइना फाट्या त्यसाई भड्चडिया ।
सुविकाल आइजान्या थियो पानी छड्छडिया ।।

आधुनिक प्रविधिभित्रको देउडाः

नेपालका गाउँबस्तीका बन पाखा पखेरा र औसर मौसरका मेला पर्व र जात्राहरू विगतमा भएको माओवादी आन्दोलनपछि समाजमा फैलिएको त्रास र अशान्तिका कारण क्रमशः हराउँदै गएका छन् । त्यसपछि अहिले यस्ता पर्वहरू नयाँ पुस्ताको लागि दन्त्य कथा बन्न सक्नेतिर समाजको विकास हुनु चिन्ताको विषय बन्दै गएको छ । यो पङ्क्तिकार पनि फेसबुक लगायत सामाजिक सञ्जालहरूमा करिव एक दशकदेखि आवद्ध भएकै कारणले विभिन्न तह तप्का समुदाय र वर्गका साथीभाइ इष्टमित्रहरूसँग फुर्सदको समयमा लेख, कविता, निबन्ध, कथा, चुट्किला, गीत, गजल तथा देउडा गीतहरू लेख्ने र देउडा पारखीहरूसँग दोहोरो सम्वाद अर्थात् सवाल जवाफमा भाग लिएर समसामयिक देखि सबै जसो विषयमा देउडा गीतहरूबाट रोचक र घोचक वहस, सम्वाद र छलफल गर्दै आएको छ ।

देउडालाइ रसिलो र मनोरञ्जक बनाउने बिभिन्न लय भाकाहरू मध्ये देउडा भाका भित्रको “नौली हदेली” पनि एक लय हो । नेपालका गाउँबस्तीका बन पाखा पखेरा र औसर मौसरका मेला पर्व र जात्राहरू विगतमा भएको माओवादी आन्दोलनपछि समाजमा फैलिएको त्रास र अशान्तिका कारण क्रमशः हराउँदै गएका छन् । त्यसपछि अहिले यस्ता पर्वहरू नयाँ पुस्ताको लागि दन्त्य कथा बन्न सक्नेतिर समाजको विकास हुनु चिन्ताको विषय बन्दै गएको छ ।

अहिलेको आधुनिक युग विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकास र रफ्तार तीव्र गतिमा छ । सामाजिक सञ्जालहरूको व्यापक प्रयोगले देश दुनियाँको खबर क्षणभरमा विश्वको एक कुनाबाट अर्काे कुनामा पुगिसकेको थाहै हुँदैन । यही प्रविधिलाई अहिलेको प्रायःजसो सबै पुस्ताले प्रयोग गर्दै आएको पाइन्छ । यो पङ्क्तिकार पनि फेसबुक लगायत सामाजिक सञ्जालहरूमा करिव एक दशकदेखि आवद्ध भएकै कारणले विभिन्न तह तप्का समुदाय र वर्गका साथीभाइ इष्टमित्रहरूसँग फुर्सदको समयमा लेख, कविता, निबन्ध, कथा, चुट्किला, गीत, गजल तथा देउडा गीतहरू लेख्ने र देउडा पारखीहरूसँग दोहोरो सम्वाद अर्थात् सवाल जवाफमा भाग लिएर समसामयिक देखि सबै जसो विषयमा देउडा गीतहरूबाट रोचक र घोचक वहस, सम्वाद र छलफल गर्दै आएको छ । त्यस मध्यका केही देउडा पारखीहरूसँग समसामयिक विभिन्न विषयमा भएको फेसबुके सवाल जवाफ वहस र देउडा सम्वादका केही अंशहरू प्रस्तुत आलेखमा राख्ने प्रयास गरेको छुः

मेरो र कालिकाप्रसाद उपाध्यायबीच भएको सवाल जवाफः

केशरसिंह माझीः

खोला गया पानी लिन एक् लोहोटा सुद्धि ।
यता आइ समुन्द्रै खोज्या हेर तीनका बुद्धि ।।
लाग्दो मङ्सिर कोइलाई फाप्यो कोइलाई भयो गाह्रो ।
जो पर्यो अरुका भर उइलाई भो झन सारो ।।
लाईखेती बारमास्या निको कि हुदो बर्षको ।
खान्याका दिन फिर्या अब उनैलाई हर्स भो ।।
कोइ खेतमा असिना पड्यो कोइखेत भया बाँझा ।
भाइ फुट्न्याको घरखेत गयो नमिल्दा घरचाँजा ।।

कालिकाप्रसाद उपाध्यायः

जाँ जाँ छ बल्याको आगो तेताइ जानु ताप्न,
दशैं तिहार केइ नभन्नु जानु टिका थाप्न ।।
देशीले क्या भनी रायो म घरको माइलो ।
नछोड्या नउरङ्गी फल छोड्या बरू थाइलो ।।
नेपाल जान्याँ नेपालीले किन्यो अरे पोत्या ।
तम्रा पनि दिन फिरन्नान् तिन्काइ खेत जोत्या ।।

केशरसिंह माझीः

जाँ पाक्या भातका ताउला हुइँ पुग्या सिरिसाइ ।
बानी त पड्याकाइ होउला सब्कुडो फिरिखाइ । ।
दानदक्षिणा बामन लिना कि त चेलीबेटी ।
चन्दन र अक्षता लइजाउ सत्तालाई आउ भेटी । ।
सक्न्याले आयोग पास अर जागिरमा खाली ठाउँ ।
नअर्नु अरुको रिस सक्न्याले ताली पाउँ । ।

कालिकाप्रसाद उपाध्यायः

अनुहार त राम्डै छियो, नाकै भयो चुच्चो ।
बयालाले उड्न्याँकन किन चाइयो कुच्चो ?
तमी त जागिर्या भएउ होला ढालीमाली ।
हाम्रा कर्ले तलब पाक्तो हामी पाउना गाली ।।

केशरसिंह माझीः

मै सितका जागिर खान्या गाडीमा गुड्डाछन् ।
समाजले प्रशङ्शा गर्दो जो राज्य लुट्टाछन ।।
कर् तिर्छन कर्बाटै खान्छन् कर्मचारी सब् न ।
दुनियाँ त तिरो तिर्दा जग्गा हुन्छ तब न ।।

कालिकाप्रसाद उपाध्यायः

मीत् छिया राग्मका माझी पर्बाज्याका पाला ।
यी माझीका फेला पड्या फुट्न्याँ छिया गाला ।।
पुराना धर्मले पनि रिस किन अरूला ।
सक्याँ भन्या अरि खाउँला नसक्या मरूला ।।

केशरसिंह माझीः

घर काँ पड्यो कालिकाको चिनारी पाउँ कि त ।
अँध्यारामा ढुङ्गा हान्या मान्ठलाई राउँ कि त ।।
जिन्दगीमा सिकिएन दुई नम्बरी धन्दा ।
माग्न चोर्न जानिएन सोध्या हुन्छ जनता ।।

कालिकाप्रसाद उपाध्यायः

म तम्राइ नजिकको मान्छे पुरानु दैलेखी ।
त्यस्ताइ होउला सुच्याको छ्याँ सोझासाझा देखी ।
तमी त सक्कली पडेउ पाप् किन सोचु म ।
सोझा रूख्का फेदमनि अब् किन घोचु म ?

केशरसिंह माझीः

दियामा नखान्या को छ तमी छौ क्या चोखा ।
दान दक्षिना लिनाइ होउला पस्दै होला कोखा ।।
सात्ताल्या सिङ्गाउड्या क्या होउ होउ कता पट्टिका ।
एक सात्ताल्या मुनिम छिया राकमका भट्टिका ।।

कालिकाप्रसाद उपाध्यायः

बन्दव्यापार जो ज्या अर्या राम्डै हो कारोबार ।
दान्खानु र घुसै खानु क्या होला बराबर ?

केशरसिंह माझीः

आज्भोली नाज्पानी भन्दा दामै चल्न लाग्यो ।
जे मा पनि पैसाइ चाहिन्या तेइ त खोरो लाग्यो ।

कालिकाप्रसाद उपाध्यायः

कैलेइ कसो कैलेइ कसो अन्न पानीको जीउ ।
मर्मत सुधार गर्नु पर्दो अनेकौं आउँदा निउँ ।।

त्यसै बीचमा दैलेखका पूर्व जिविस उप–सभापती सूर्यबहादुर शाहीसँगको सवाल जवाफः

सूर्यबहादुर शाहीः

अन्न पानी मिलाइ खानु भरोसा त्यसैको ।
मर्मत सुधार राम्रै अरौ डर ठुलो कोभिडको ।।

केशरसिंह माझीः

ओख्तो मुलो चलेकै हो घट्बड भै हैरानी ।
अपरझट आइ पन्र्या मेसो बनाउनो बिरामी ।।

सूर्यबहादुर शाहीः

सचेत् र सजत् भैरौ दिर्घरोग् भयामा ।
केइ गर्न सकिनो छ कि जिन्दगी रयामा ।।

केशरसिंह माझीः

मर्मत अरि चलेकै छ जोस् जाँगर छनाइ छ ।
लागि रहो लागेकै छौं सबैको भनाइ छ ।।

सूर्यबहादुर शाहीः

किलाकाँटा मजबुत राख्नु खिया नलाग्याका ।
पुरै टिम दरिलो चाइयो सबैले भन्याका ।।

केशरसिंह माझीः

साइ दरै म पन दरै दरिला खोजौंला ।
नौलो स्वाद् पस्किना कन नौलै चाल् रोजौंला ।।

सूर्यबहादुर शाहीः

मन् दरोत छ्नै छियो शरीरले क्या भन्छ ।
लागिराखौ स्वाद् लिनलाई समाज् साथ् दिन्याछ ।

केशरसिंह माझीः

जिउ दरो बनाउना कन मन् दरो बनाउँला ।
समाज्लाई सै बाटो हँड्न सबैलाई मनाउँला ।।

यसै बीचमा डम्बर उपाध्यायले गरेको गरेको सवाल जवाफः

डम्बर उपाध्यायः
दानापानी शरिरमा समयमा चाहिन्छ ।
निउ लागेर जानु पर्ने खोजे काँ पाइन्छ ।।

केशरसिंह माझीः

जाँ सम्म जीन्दगी रला यसै चलाउनु छ ।
मर्मत सम्मार अरिकन जीउ त पलाउनु छ ।।

सूर्यबहादुर शाहीले डम्बर उपाध्यायलाई फर्काएको जवाफः

समय ननाटो आयो दानानै नपाइन्या ।
उमेर बढ्दै गयो भन्या जोर्नी जोर्नी खाइन्या ।।

डम्बर उपाध्यायले सूर्यबहादुर शाहीलाई फर्काएको जवाफः

बासी महीले जोर्नी खाइन्या सुगर दुध् खायाले ।
दैबले हात थाप्नु पर्यो बाँच्नु छ मायाले ।।

डम्बर उपाध्यायले केशरसिंह माझीलाई फर्काएको जवाफः

जेठ बैशाख भाउ घट्टो छ हिउँद ओेडन्या लिउको ।
सन्तुलित आहारा खानु सम्मार गर्नु जिउको ।।

सूर्यबहादुर शाहीले डम्बर उपाध्यायलाई फर्काएको जवाफः

दुधौनो हाल्लाछ्न पानी मैखान हराइगो ।
दैको माया भौतिलाग्दो बसाइछ पराइको ।।

डम्बर उपाध्यायले सूर्यबहादुर शाहीलाई फर्काएको जवाफः

दुध खानु दैबले लैगो दहि खानु हराइगो ।
पुर्खाको अबस्थल छोड्दा आफ्नाको पराइभो ।।

केशरसिंह माझीले डम्बर उपाध्यायलाई फर्काएको जवाफः

दुधौनो हाल्लाइनन् पानी, पानीमा दुध् हाल्ला ।
चर्नलाइ जाँ चर्या पनि घरै त आइ फाल्ला ।।
नपाल्या भैंसीको दुधको रेलो खेलो भैगो ।
गाइ भैँसी त अरु पाल्ला रोजि खोजि कैको ।।
पानी पनि निःशुल्क नाइँ बोतलमै मिल्लाछन् ।
सबै थोक किनेरै खाँदै क्या अरी निल्ला छन् ।।

सूर्यबहादुर शाहीले डम्बर उपाध्यायलाई फर्काएको जवाफः

दुध दइ खान्या पुर्खा छिया स्वास्थ पनि छिया ।
पुर्खाको नछोड्या सबै मौकामा आइगया ।।

डम्बर उपाध्यायले सूर्यबहादुर शाहीलाई फर्काएको जवाफः

जाल जंजालमा संसारै छ सबलाइ मिलाउनु छ ।
केहि कृति रहेका आइ बिश्वास दिलाउनु छ ।।
गाडि चल्या मोटर चल्या घरै पुग्दो नुन ।
असायालाई सहयोग गरौ निर्गुनीलाई गुन ।।

केशरसिंह माझीः

घाम् छायाँ असिना पानी प्रकृतिको लिला ।
दुक्ख पिउन्या बानि पड्या सबै पत्यारिला ।।

बीचमा हेमराज उपाध्यायले केशरसिंह माझीलाई फर्काएको जवाफः

बादल् फाट्या घाम ताप्नु छ मेग आया रुझ्नु छ ।
कोइ कसा छन् कोइ कसा छन् समस्या बुझ्नु छ ।।

केशरसिंह माझीले हेमराज उपाध्यायलाई फर्काएको जवाफः

एक् न एक पिरलो हुनो मान्छे भयापछि ।
घाम् छाया प्रकृति जसो चल्दै रया पछि ।।

बीचमै वरिष्ठ प्रगतिशिल कवि श्यामलले केशरसिंह माझीलाई दिएको जवाफः

जा बैना घाँस काटि लैआ गाई भैंसा भोकै छन् ।
गरिप्का झुपडी हुनो शोकका शोकै छन् ।।

केशरसिंह माझीले कवि श्यामललाई फर्काएको जवाफः

धनिलाई बिदेश्को ओख्तो गरिब्लाई देश्कै नाइँ ।
दुखारीलाई दुक्खै दुक्ख सुक्खको छेस्कै नाइँ ।।

केशरसिंह माझीः

लेक साइ कागुनु लाउनो औल लाउनो मुला ।
पानी मरुवाका हेर कुडा मात्र ठूला ।।

बीचमै भक्त बहादुर बडुवालः

उइ लेख धान कोदो बुवाई औल खेत रोपाई ।
के पाउँछन् फटाहा अब मर्छन् पानी नपाई ।

केशरसिंह माझीले भक्तबहादुर बडुवाललाई फर्काएको जवाफः

कट्किनो लाइखान छोड्या औल भात पल्कि ।
आँखा कान् बुजेर खाया उम्लला छ्चल्कि ।।

केशरसिंह माझीः

दुइ घोडे बग्गीलाई अब छ घोडा तान्न्या हुन् ।
काँ सम्म पुर्याउन्या हुनन् जो जन्ता मान्न्या हुन् ।।

बीचमै देवीप्रसाद देवकोटाले केशरसिंह माझीलाई दिएको जवाफः

आयोगले दिएको सुझाव, मान्छन् कि मान्दैनन् ।
भबिष्यमा क्या हुन्या हो, कोइ पनि जान्दैनन् ।।

केशरसिंह माझीले दवीप्रसाद देवकोटालाई फर्काएको जवाफः

एक ठौर पुर्याउनेइ होलान तान्याकै छन् रथ ।
सबैका छन् मिसियाका बनाउनेइ छन् पथ ।।

बीचमै नारायणप्रसाद कोइरालाले केशरसिंह माझीलाई दिएको जवाफः

पार्टी हाम्रै देउता हाम्रै, अरु त पाली हुन् ।
चिन्दौ न क्या फुलपाते हो अरु सव जाली हुन् ।।

केशरसिंह माझीले नारायणप्रसाद कोइरालालाई फर्काएको जवाफः

बेला न कुबेला बताँस् लाग्दो र पो मार्यो ।
फुल्पाती चढाउँदै जाँदा बित्यासै पो पार्यो ।।

यीनै र यस्तै प्रकारका अनेक क्षेत्र समेटेको देउडाको विभिन्न सेरोफेरोमा “नौली हदेली” पनि एक लय हो, सुर हो र ताल पनि हो । अक्सर गरी दैलेख जिल्लाको दुल्लु र आठबीस दरा भनिने क्षेत्रका बन, पाखा, मेला पात, घाँस दाउराको भारी नै पिठ्यूँमा किन नहोस् सदा घन्की रहने ठाडी भाका “नौली हदेली” विभिन्न पर्व, जात्रा, विवाह, ब्रतबन्ध, मठ मन्दिरमा बिभिन्न अवसरमा हुनै पूजाआजादेखि दिउँसो तथा रातीमा लाग्ने जात्राका औसर मौसरहरूमा देख्न पाइन्छ । त्यसैले त्यस क्षेत्रको पहिचानको रूपमा रहेको “नौली हदेली” अहिले पश्चिमी पहाडका अन्य जिल्ला वा क्षेत्रमा यस भाकाको बिस्तार हुदै आफ्नो विशिष्ट संस्कृति स्थापित गर्न सफल भएको छ । तर विडम्वना, राज्य पक्षको ध्यान यस क्षेत्रमा नपुगेकै कारणले देउडा संस्कृति र परम्पराको प्रवद्र्धन, संरक्षण र विकास भविष्यकै गर्भमा रहेको छ । यसैले राज्य पक्षलाई यस संस्कृति र परम्पराको सम्वद्र्धन र प्रवद्र्धनका लागि एउटा राष्ट्रिय स्तरको देउडा प्रतिष्ठानकौ स्थापना गरी यसबारे थप खोज, अनुसन्धान वा उत्खनन् गर्नका लागि देउडा साहित्यप्रेमीहरू आफै जुर्मुराउनु पर्दछ ।

र अन्त्यमा,

भाषा, संस्कृतिको वैशिष्ट्यताले प्रस्तुत आलेखमा प्रयुक्त शक्दहरूमा कत्ति पनि कन्जुस्याई नगरी जस्ताकौ तस्तै राख्ने जमर्को गरिएको छ । पाठकबृन्दहरू, शब्दार्थको कमी महशुस नगरी आलेखको आरम्भदेखि अन्त्यसम्मका अनुच्छेदहरू पढ्दै जाँदा शब्दार्थ खुल्दै जानेछ, एकपटक गरेको कोशिसले गहनतामा कुनै असर नपर्ला कि !

बन पाखा घन्किन लाग्या लय बदेलिको ।
भाका पनि गीत् भैगयो नौली हदेलीको ।।

(लेखक माझी नेपाल सरकारको अधिकृत पदबाट सेवा निवृत्त कर्मचारी तथा कर्णाली क्षेत्रको देउडा संस्कृतिको अगुवा हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको