२१ जेष्ठ २०८०, आईतवार

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो, साउन १ देखि लागु



१५ जेष्ठ, काठमाडौं । सरकारले निजामती कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साउन १ गतेदेखि लागू हुनेगरी दुई हजार तलब बढाइएको जानकारी दिएका हुन् ।

कोरोना महामारीको व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउन न्युनतम तलब बृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

अध्यादेशमार्फत ल्याइएको बजेटमा हाल दिइएको महंगी भत्तालाई भने कायमै राखिएको छ ।

कर्मचारी युनियनले सरकारलाई समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै दवाव दिइरहेका थिए ।

निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।

कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गरिने समेत अर्थमन्त्रीले बताएका छन् ।

बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै प्राथकिताका साथ सेवा सुरु गर्ने समेत बजेटमा उल्लेख छ ।

निजामती कर्मचारीको सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निजामती विद्यालय सञ्चालन गर्ने र भएका विद्यालयलाई स्तरोन्नती गर्ने अर्थमन्त्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको