२० श्रावण २०७८, बुधबार

भेरी अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण गर्ने ओली समुहका नेता मानबहादुरसहित ३ जना पक्राउ



१४, जेष्ठ, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गर्ने नेकपा (एमाले) केपी ओली समुहका नेता मानबहादुर रावतसहित भरत रावत र लोकबहादुर रावत गरी ३ जनालाई पक्राउ गरिएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङका नेता मान बहादुर रावतको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्यराती आक्रमण र तोडफोड गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४-५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको हुन् ।

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको हो । उनको मृत्युलगत्तै मानबहादुर रावत लगायतका व्यक्तिहरूले कोभिड कक्षमा तोडफोड गर्दै आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । पक्राउ परेका मानबहादुर रावत मृतकका भाइ हुन् भने भरत र लोकबहादुर रावत मृतकका छोराहरू रहेको प्रहरीले जनाएको छ ।

भेरी अस्पताल विकास समितिका अनुसार मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवम् कर्मचारीहरूले सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु