आवश्यक पर्दा जनताले दिएको अधिकार मैले प्रयोग गर्नुपर्छ : सभामुख
१३ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को आफुकेन्द्रित निर्णय गरिरहदा सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् ।
त्यो अधिकार के हो भन्नेबारे प्रष्ट नखुलाए पनि उनले आफु रमिता हेरेर मात्रै नबस्ने संकेत गरेका हुन् ।
आज संविधानविदहरूसँग छलफलका क्रममा उनले भने, ‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ । नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ ।’ देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मलाई जनताले प्रदान गरेको अधिकार आवश्यकताका आधारमा प्रयोग गर्ने उनको भनाई थियो ।
पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायतसँग पनि छलफल गर्ने सभामुख सापकोटाले जानकारी दिए ।
उनले संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने बताउदै संविधान विपरित कोहि पनि चल्न नहुने धारणा राखे । उनले सबैभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संविधान पालना गर्नुपर्ने पनि बताए ।