२१ जेष्ठ २०८०, आईतवार

कोरोनाबाट सुदूरपश्चिम प्रदेशका पहिलो पूर्व प्रदेश प्रमुख मल्लको निधन



१३ जेष्ठ, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । उनी लामो समयदेखि निमोनियाको उपचार गराइरहेका थिए ।

काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउँदले जानकारी दिएका छन् । विगत ४ दशक अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत थिए ।

उनी बि.सं. २०३७–२०४६ सम्म राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । २१ वर्षको उमेरमा राजनीति थालेका मल्ल २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाँउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्वविद्यालयको सभासद पनि भएका थिए ।

२०४६ सालको परिवर्तन पछि राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका–१ मा जन्मेका मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले स्नातकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक समेत पाएका थिए । उनका १ छोरा र १ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको