१५ मंसिर २०७८, बुधबार

कर्णाली प्रदेशमा कोरोना नियन्त्रण गर्न स्वयंसेवक परिचालन गरिने



१२ जेष्ठ, काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने भएको छ । प्रदेश सरकारकी प्रवक्ता सीता नेपालीका अनुसार मन्त्रिपरिषदको सोमबारको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको संरक्षकत्वमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

स्वयंसेवकहरूले मुख्यगरी बाह्य जिल्लाबाट आउने संक्रमितको उपचारमा सहयोग, संक्रमितको मृत्यु भएको खण्डमा दाहसंस्कारको लागि व्यवस्थापन, समुदायस्तरमा सचेतना फैलाउने र संक्रमितलाई रेखदेखलगायत काम प्रवक्ता नेपालीले बताइन् ।

हाल प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेत आएका संक्रमितको मृत्यु हुँदा दाहसंस्कारमा समस्या हुँदै आएको छ ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री समेत रहेकी नेपालीले प्रदेश सरकारले स्वयंसेवक खटाउनु अघि सेवा गर्न इच्छुकहरुलाई सार्वजनिक रुपमा आह्वान गर्ने बताइन् । उनले भनिन्, ‘यसरी छनौट हुने स्वयंसेवकहरूले गाउँ–गाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापनसम्मका काम गर्नेछन् । स्वयंसेवकहरुले गाउँ–गाउँ पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरु पनि सिकाउनेछन् ।’ स्वयंसेवकलाई सामान्य चिया र खाजाको व्यवस्था गरिने छ ।

स्वयंसेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेख लगायतका काममा सहयोग गर्नेछन् ।

यस्तै बैठकले प्रदेशमा ८ हजार ३०० क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याउने पनि निर्णय गरेको छ ।

मन्त्री नेपालीका अनुसार तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिइनेछ । कर्णालीमा वर्षेनी आइलाग्ने खाद्यान्न संकट यो वर्ष कोरोना महामारीका कारण थप भयावह बन्ने आँकलन गरिएको छ ।

अनुदानस्वरुप दिइने उक्त बजेट कम्पनीलाई उपलब्ध गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको