१३ आश्विन २०८०, शनिबार

अब म कहिल्यै लेख्दिन



बिन्ती हजुर,
मलाई माफ गर्नुहोस्
भयो ! म अब लेख्दिन ।।
मैले त,
वस्तिका भोकहरू
नाङ्गो पैतलाका डोबहरू
उमेर छँदैका वुढ्यौली बैंसहरू
जिर्ण रहरहरू
र खण्डहर सपनाहरू
अलिकति विश्वास, अपेक्षा
अनि भरोसा तिमी प्रतिको
लेखेको न हुँ
त्यही नै विरोध हुन्छ भने
तिम्रा लागी
मलाई माफ गर्नुस् महाशय
भयो ! अब म लेख्दिन ।।
कुनै वाद बोक्दैन
मेरो लेखनीले
न समर्थन गर्छ
कुनै विचारको
कुहिनोले पहाड ठेलेजस्तो
के अर्थ छ र विरोधको पनि
न समर्थन, न विरोध
न वाचा, न प्रतिवद्धता
न स्तुति, न समर्पण
न आग्रह, न पूर्वाग्रह
केही नहुँदा नहुँदै पनि
किन रिसाउनु हुन्छ यति विघ्न
भो ! रौद्ररूप देखाउनु पर्दैन
एक पटकलाई माफ गर्नुस् हजुर
कान समातेर भन्छु
भयो ! अब म लेख्दिन ।।

आँखा बन्द गर्छु,
कान थुन्छु,
हात बाँधेर बस्छु
केही नदेखे झैं,
केही नसुनेझैं,
केही नबुझे झैं
अभिनय गर्छु
बरू मेरै सासले हजुरको
निद्रा खल्बलिन्छ भने
सास फेर्न छोड्छु म
मेरै धड्कनले
कम्पन आँउछ भने
मुटु पनि बन्द गर्छु
हात जोड्छु, बिन्ती छ
यो पटकलाई माफ गर्नुस्
भयो ! अब म लेख्दिन ।।

मेरा अक्षरहरू,
कोरोना भाइरस होइनन्
साइनाइड बिष होइनन्
न त गोला बारुद र बारूदी सुरुङ्ग नै हुन
मेरा अपेक्षा र तिम्रा प्रतिवद्धता
मेरा अधिकार र तिम्रा कर्तव्य
अनि मेरा माग र तिम्रा वाचाहरू
जोड्ने पुल हुन झैं लाग्थ्यो
तर होइन रहेछ
त्यसैले,
तिमीलाई मन नपर्ने कुरा
म किन लेख्छु र
तिम्रो पाउ छोएर भन्छु
अब पनि लेखे भने
झुन्डाई दिनु खरीको बोटमा
अन्तिम पटकलाई मलाई माफ गर्नुस
भयो ! अब म कहिल्यै लेख्दिन ।।

कवि रिजाल नेपाल सरकारका सह–सचिवका रूपमा गृह मन्त्रालयमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको