भर्चुअल रूपमा तेह्रौं पुस्तकालय दिवस सम्पन्न
१५ भाद्र, काठमडौं । नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत् २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।
तेह्रौं पुस्तकालय दिवस मनाउनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माको अध्यक्षतामा पुस्तकालयसँग सम्वद्ध सवै सरोकारवालाहरूको सहभागितामा मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरिएका थिए ।
कोभिड–१९ को विषम परस्थितिमा पनि मिति २०७७ भाद्र १५ गते माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरराजमणी पोखरेलको प्रमुख आतिथ्यता तथा सचिव तथा मूल समारोह समितिका अध्यक्ष डा.सञ्जय शर्माको अध्यक्षतामा भर्चुअल समापन समारोहको आयोजना गरियो । कार्यक्रमको सञ्चालन मन्त्रालयको पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उप–सचिव तथा तेह्रौं पुस्तकालय दिवस मूल आयोजक समितिका सदस्य–सचिव यादवचन्द्र निरौंलाले गरेका थिए । कार्यक्रम सञ्चालन गर्नका लागि प्राविधिक सहयोग नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क र कार्यक्रम अधिकृत निराजन पराजुलीले गरेका थिए ।
कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले पुस्तकालय दिवसका माध्यमबाट नेपालमा पुस्तकालयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको कुरा बताए । नेपाल राष्ट्रिय पुस्तकालयको स्थगन भएको भवन निर्माणसम्बन्धी काम छिट्टै हुने आशा पनि व्यक्त गरेका छन् । सार्वजनिक तथा सामुदायिक पुस्तकालयको विकास र विस्तारमा तीन वटै तहका सरकारको भूमिका रहने भएपनि स्थानीय तहको सवभन्दा महत्वपूर्ण भूमिका रहने कुरा बताए । राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना तथा पुस्तकालय स्वचालीकरण योजना चाडै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरे ।
सो अवसरमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले समग्र पुस्तकालय र पुस्तकालयकर्र्मीका तर्फबाट कोभिड–१९ को चुनौतिका बीच आयोजना भएको दिवसमा प्रविधिका कारणले संसारभरबाट जोडिन सकेकोमा यो अभूतपूर्व अवसर रेहेको बताइन् । सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नु पर्छ र आवश्यक कानूनहरू पनि निर्माण गरिदिनु पर्ने कुरा बताइन । गैह्र सरकारी संस्थाहरूले पनि नेपालको पुस्तकालय दिवसका अवसरमा दिएको योगदानको स्मरण गर्दै नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण स्थगन गर्ने काम सरकारबाटै भएकोमा निर्णय सच्याइनु पर्ने कुरा बताइन् ।
सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ तथा नेपालको प्रदेश नं. १ को झापाको धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो । सो अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेललाई प्रशंसा–पत्रबाट सम्मानित गरियो ।
सो अवसरमा दि एशिया फाउण्डेसनबाट विभिन्न पुस्तकालयहरूलाई पनि पुस्तक हस्तान्तरण गर्ने घोषणा गरिएको थियो । सो अवसरमा पुर्वमन्त्री गणेश शाहले राष्ट्रिय पुस्तकालयका लागि राष्ट्रिय अभियान सञ्चालन गरौं प्रदेश स्तरका सरकारलाई प्रदेश पुस्तकालय र स्थानीय तहलाई स्थानीय पुस्तकालयको विकास गर्नु पर्ने कुरा बताए ।
सो अवसरमा तेह्रौं पुस्तकालय दिवसका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । समारोहमा उपस्थित पाहुनाहरूलाई मूल समारोह समितिका उपाध्यक्ष तथा मन्त्रालयका प्रवक्ता दीपक शर्माले गरेका थिए ।
पुस्तक चिताइ तहवील नामक पुस्तकालय स्थापना गर्नका लागि लालमोहर जारी गरेको ऐतिहासिक दिनको सम्झना स्वरूप वि.सं. २०६५ सालदेखि हरेक वर्ष नेपालमा पुस्तकालय दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो ।
सामुदायिक र सार्वजनिक पुस्तकालयहरुलाई सरकारले हरेक स्थानीय निकायमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालयको स्थापना गर्दै लैजाने नीति लिएको छ । यस वर्षको पुस्तकालय दिवसको आर्दश वाक्य ‘समाज रूपान्तरणका लागि पुस्तकालय’ले पनि यसै तथ्यतर्फ सङ्केत गरेको छ ।